पोखरा । आगामी माघ ९ गते देखि १७ गते सम्म पोखरा रङ्गशालामा सञ्चालन हुने ‘छैटौं टाइगर कप मा मालदिभ्सको राष्ट्रिय पुरुष टोलीले सहभागिता जनाउने भएको छ । शनिबार टाइगर ग्रुप अफ पोखरा नेपालको चौथो वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष नारायण प्रसाद शर्माले उक्त जानकारी दिएका हुन् । 

खेलकुद, शिक्षा  र स्वास्थ्यका लागि समर्पित टाइगर ग्रुपले पोखरामा प्रत्येक वर्ष टाइगर कप आयोजना गर्दै आएको छ । अध्यक्ष शर्माले टाइगर कप व्यापक बन्दै गइरहेको बताउँदै टाइगर कपसँग समय जुध्ने भएपछि माघ १३ गतेदेखि २५ गतेसम्म माल्दिभ्समा हुने भनिएको काभा महिला भलिबल प्रतियोगिता समेत सारिएको जानकारी दिए । यसले टाइगर कपको साख स्वदेशमा मात्रै नभई विदेशमा समेत उत्तिकै छ भन्ने प्रमाणित गरेको उनको भनाई छ ।  

साधारणसभा कार्यक्रमका प्रमुख अतिथि नेपाल मणिपाल शिक्षण अस्पतालका निर्देशक नारायण पौडेलले टाइगर ग्रुपले छोटो अवधिमा गरेको कार्यहरू प्रशंसनीय र महत्वपूर्ण रहेको जनाउँदै आफ्नो संस्था सदैव सहकार्यका लागि तयार रहेको बताए । उनले कास्कीमा एक विद्यालय एक भलिबल प्रशिक्षकको व्यवस्था गर्न टाइगर ग्रुपलाई सुझाव दिदैँ यसबाट रोजगारी समेत वृद्धि हुने बताए ।

नेपाल भलिबल सङ्घका केन्द्रिय सल्लाहकार हरिप्रसाद पराजुलीले पोखरामा सञ्चालन हुने गौरवका खेलकुद कार्यक्रमहरूको सामञ्जस्यता ल्याउन सके त्यसले पोखराको खेलकुदसँगै पर्यटन क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा सूर्य देवकोटाले टाइगर ग्रुपले खेलकुद, स्वास्थ्य र सामाजिक क्षेत्रमा गरेको कार्यले सबैलाई आकर्षण गर्न सफल रहेको जनाउँदै उनले आफू जहिले पनि संस्थाको सामिप्यमा रहेर कार्य गर्न उत्सुक रहेको उल्लेख गरे ।

सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङले टाइगर ग्रुपले गरेको कार्यको प्रशंसा गर्दै सहारा क्लबले पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । चौथो वार्षिक साधारण सभामा सचिव डिबी नेपालीले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले टाइगर ग्रुपले छैटौँ टाइगर कपको आयोजनासँगै शिक्षा, स्वास्थ्यलगायत अन्य सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताए । त्यस्तै संस्थाले खेलाडी तथा प्रशिक्षकहरूको सम्मान, मुस्ताङमा मुटु स्वास्थ्य अभिमुखीकरण कार्यक्रमलगायत १ दर्जन प्रस्तावित कार्यक्रमहरू तय गरिएको जानकारी दिए ।

संस्थाका कोषाध्यक्ष हरिकुमार श्रेष्ठले पाँचौ टाइगर कपमा प्राप्त सफलताले उत्साहित रहेको जनाउँदै संस्था गत आवमा दुई दर्जन संस्थाहरुलाई आर्थिक सहयोगसँगै सहकार्य गरेको जनाए । कार्यक्रममा संस्थाका उपाध्यक्ष देवेन्द्र केसी, खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमवी आस्थाले समेत आफ्ना भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0