पोखरा । पोखरा ट्रेड मलस्थित क्यूएफएक्समा १४औं युरोपेली चलचित्र महोत्सव जारी छ । महोत्सव नेपालस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले फ्रान्स, जर्मनी, फिनल्याण्ड, अन्य ईयू सदस्य राष्ट्रका दूतावास तथा ब्रिटिश काउन्सिल र युनेस्कोसँग सहकार्यमा आयोजना गरेको हो। युरोपेली युनियनको सांस्कृतिक अभियानअन्तर्गत शुक्रबार साँझदेखि सुरु भएको महोत्सवमा आज युरोपेली तथा नेपाली लघु चलचित्रहरू, बाफ्टा–मनोनित चलचित्रहरू प्रदर्शन गरिएको छ भने चलचित्रकर्मीसँग संवाद कार्यक्रम समेत भएको छ ।
चलचित्र महोत्सवमा बोल्दै ब्रिटिस काउन्सिलका निर्देशक रुस्तम मोदीले बाफ्टा २०२५ मा मनोनित ३ वटा चलचित्रहरू प्रदर्शन गरिने बताए । अघिल्लो हप्ता युनेस्कोसँगको साझेदारीमा काठमाण्डौमा फिल्म उद्योगको भविष्यबारे संवाद कार्यक्रम गरिएकोमा पोखरामा अब फिल्म उद्योग कसरी अगाडि बढ्न सक्ला? भन्ने विषयमा केन्द्रित रहेर संवाद कार्यक्रम गरिएको बताए ।
युरोपेली सङ्घको नेपाल प्रतिनिधिमण्डल ईईएएसका प्रेस तथा सूचना अधिकारी विद्या महर्जनले महोत्सवमा दर्शकले निःशुल्क रुपमा चलचित्रहरू हेर्न सक्ने बताइन् । सन् २०१८ पछि पहिलोपटक पोखरामा महोत्सव आयोजना गरिएको बताइन् । महोत्सवमा भोलि आइतबार पनि चलचित्रहरू प्रदर्शन हुने छन् । ती चलचित्रहरू दिउँसो १२ बजेबाट सुरु हुने उनले जानकारी दिइन् ।

ब्रिटिश काउन्सिलको सहकार्यमा आयोजित ‘चलचित्र उद्योगले अब के गर्ने त’ शीर्षकमा भएको छलफलमा नेपालका चलचित्रकर्मीहरू जसमाया गुरुङ जसु, गौ माया गुरुङ र प्रविण टक्की कार्की ले स्थानीयदेखि अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कमाउँदै आएका अनुभव साझा गरेका थिए । सो अवसरमा गुरुङ चलचित्र निर्देशन गर्दै आएकी जसमाया गुरुङ जसुले गुरुङ भाषा, संस्कृति जगेर्ना र त्यसको संरक्षणका लागि पनि आफूले गुरुङ चलचित्रहरूमा काम गर्दै आएको बताइन् ।
त्यस्तै अभिनेत्री गौमाया गुरुङले मङ्गोलियन अनुहारका व्यक्ति पनि अभिनेत्री बन्न सक्छ भन्ने आत्मविश्वास बनाउन नै आफूलाई समय लागेको बताइन् । बलिउड र हलिउडको दबदबा रहेकोमा अहिले विस्तारै जनजाति समुदायका जनजीवनसँग सम्बन्धित चलचित्रहरू बन्न थालेको उनले अहिले भने सजिलो हुन थालेको बताइन् ।
यस्तै प्रवीण टक्की कार्कीले नेपालको चलचित्र उद्योग काठमाण्डौमा मात्र सीमित रहेको भन्ने भाष्य तयार भइराख्दा मोफसलमा समेत चलचित्रसम्बन्धी कामहरू भइराखेको बताए । चलचित्रको प्रशासनिक कामहरू काठमाण्डौमा हुने गरेको भएपनि कथावस्तु खोज्न र पात्र खोज्नका लागि अझैपनि मोफसलका गाउँसम्म चलचित्र कर्मीहरु पुग्ने गरेको बताए ।
संवाद कार्यक्रमको सञ्चालन सुनिर पाण्डेले गरेका थिए । यसअघि हिजो शुक्रबार साँझ बरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा मार्ता सविनाद्वारा निर्देशित १ घण्टा ३७ मिनेट लामो फिल्म ‘द गर्ल फ्रम टुमरो’ देखाईएको थियो ।










