पोखरा । पोखरामा पहिलो पटक नेशनल अटोक्रस च्याम्पियनसिप २०२५ हुने भएको छ । आगामी पुष ११ गते हुने च्याम्पियनसिपको तयारी सुरु भएको आयोजक जायोन ओभरल्याण्डले जनाएको छ । मोटोभर्स स्पोर्ट्स क्लबको सहकार्य तथा नासा गण्डकीको समन्वयमा च्याम्पियनसिप हुने लागेको हो ।
यो कार्यक्रमले खेलकुदमार्फत पर्यटन प्रर्वद्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठले बताए । विश्वकै चर्चित खेलकुद कार्यक्रम मध्येको एक अटोमोबाइलको अटोऋस रेस पोखरा जस्तो सुन्दर र पर्यटकीय गन्तव्यको अभियानमा अझै महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास रहेको छ । काठमाण्डौ पछि पोखरामा अटोऋस च्याम्पियनसिप आयोजना गर्न लागिएको हो ।
फेडेरेशन इन्टरनेशनल डि अटोमोबाइल एफआइए द्वारा मान्यता प्राप्त च्याम्पियनसिपले यो खेलमा अभिरुची राख्न ड्राइभरहरूको लागि महत्वपूर्ण अवसरको रुपमा लिने विश्वास गरिएको छ। सडक सुरक्षाको विशेषता समेत रहेको यो प्रतियोगिताले नेपाली ड्राइभरहरूको क्षमता अभिवृद्ध सँगै उनीहरूलाई अन्तर्राष्ट्रिय एरेना सम्म पुग्न महत्वपूर्ण भूमिका खेल्ने श्रेष्ठले बताए।
अटोऋस मोटर स्पोर्ट्सको एक विद्या हो, जहाँ ड्राइभरहरूले माटो, ग्राभल वा पिच ट्रयाकमा बनाइएको छोटो कोर्सलाई टाइम अट्याक शैलीमा सकेसम्म छिटो र सटीक रुपमा पुरा गर्नुपर्ने हुन्छ। यस प्रकारको रेसिङ्ग छोटो तर चुनौतीपूर्ण कोर्स भएको तथा स्किल र स्ट्राटेजी परीक्षण गर्नका लागि मात्रै नभई युवा तथा मोटर प्रेमीहरूमा अत्यन्त लोकप्रिय रहेको छ।
पोखरामा साहसिक खेलमार्फत पर्यटन तथा अटोमोबाइलको अटोक्रस स्पोर्ट्सलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस च्याम्पियनसिपमा दुई क्याटेगोरीमा प्रतिस्पर्धा हुनेछ । क्याटेगोरी ए मा २००० सिसी भन्दा कम क्षमता भएका कार र क्याटेगोरी बी २००० सिसी भन्दा माथिका कारबीच प्रतिष्पर्धा हुनेछ ।प्रतियोगितामा १२ वटा कार २००० सिसी भन्दा कम क्षमता भएका १२ वटा कार तथा २००० सिसी भन्दा माथिका गरी जम्मा २४ कारको सहभागिता रहने छ।
नासा मार्सल एण्ड ट्रेनिङ कमिसनका सचिव आशिष रौनियार प्रतियोगिता सञ्चालन गर्न २४ लाख ३० हजार खर्च हुने अनुमान गरेको बताए । २ लाख रुपैयाँ पुरस्कारमा खर्च हुने उनको भनाइ छ । ७ वटा प्रदेशबाट २४ जनाको सहभागिता हुने उनले बताए ।
यो प्रतियोगिताले पोखराको साहसिक अटोमोबाइल खेलको स्तर उकास्न, प्रतिभाशाली चालकहरूलाई राष्ट्रिय प्लेटफर्म दिन तथा गण्डकी प्रदेशको राजधानी पोखरालाई मोटर स्पोर्टस मार्फत पर्यटनलाई प्रवर्दधन गर्ने विश्वास आयोजकको छ।











