पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा अब गणतन्त्रवादी दलहरूले नै बोकेर राजा ल्याउने बताएका छन् । पोखरा महानगरको अधिवेशनलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले आफूहरूले ल्याउने राजा राप्रपाको मात्रै हुने भएकोले अब आउने राजा देशकै अभिभावक हुने र त्यो अहिलेका गणतन्त्रवादी दलहरूले नै बोकेर ल्याउने दाबी गरे । जेनजी आन्दोलनकै क्रममा राजसंस्था ल्याउनुपर्ने आवाज उठे पनि समय आएपछि मात्रै कदम चाल्नुपर्ने उनको तर्क छ । गणतन्त्र मान्ने दलहरूले नै आफूहरूसँग राजसंस्था ल्याउने विषयमा कुरा गरिरहेको भन्दै लिङ्देनले गणतन्त्र राष्ट्रिय एकताको दृष्टिकोणले खतरनाक भएको बताए ।  

उनले फागुन २१ को चुनावअघि नै देशलाई निकास दिनुपर्ने बताएका छन् । यसैका लागि पार्टीको केन्द्रीय समिति बैठक डाकिएको भन्दै बैठकबाट निर्णय गर्ने उनको भनाई छ । चुनावमा सहभागी भए राप्रपा नै पहिलो दल हुने उनको दाबी छ ।  पार्टीको पदमै रहेकाहरूले समेत राप्रपालाई मत नदिएको उनको आरोप छ । अहिले गाउँमा गणतन्त्रवादी दलहरूलाई जनताले अस्वीकार गरेको अवस्थामा राप्रपा प्रमुख हुने लिङ्देनले सुनाए ।

राप्रपा महामन्त्री धवलशमशेर राणाले आफू अध्यक्ष राजेन्द्र लिङ्देनसँग मिल्न तयार रहेको बताए। उनले मिल्नुको कुनै विकल्प नरहेको बताए । राणाले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने बताएका छन् । महाधिवेशन निष्पक्ष गर्न समेत उनले अध्यक्ष लिङ्देनलाई चेतावनी दिए । राणाले अरू दलहरू समेत अहिले मिल्नका लागि तयार भएकोले उनीहरूलाई पार्टीले ठुलो छाती बनाएर स्वागत गर्नुपर्ने बताए । सबै राजावादी राष्ट्रवादीलाई एकीकृत गर्ने गरी तयारी गर्न उनले सुझाव दिए ।  केही समययता अध्यक्ष लिङ्देन र महामन्त्री राणाबिच पानी बाराबारको स्थिति रहँदै आएको छ ।

राप्रपाका केन्द्रीय सदस्य अर्जुन खनालले अबको लडाइँ राष्ट्रवादी र नक्कली राष्ट्रवादीबीचको भएको बताए । अबको लडाइँ सामान्य नभएको भन्दै गणतन्त्रको नाममा वर्षौदेखि देशलाई लुटेर कङ्गाल बनाउने र राजसंस्थावादीहरूबीचको लडाइँ भएको उनले खुलाए । उनले आफूलाई राष्ट्रवादी भएकै कारण हिरासतमा लिएको दावी समेत गरे । युवा नेता खनालले राजा आउने दावी गरे । गणतन्त्रको बिउ रोप्नहरूले अहिले एजेण्डा छोडेर भागिसकेको भन्दै यो राजावादीको लागि खुशीको कुरा भएको उल्लेख गरे ।

राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले कास्कीमा सबैको एकमत भएकोले केन्द्रमा पनि सबै एकमत हुनको लागि आग्रह गरे । निर्मल प्रसाद गौतमको अध्यक्षतामा भएकाे अधिवेशनको उद्घाटनमा उपाध्यक्ष हेमजंग गुरुङ, केन्द्रीय सदस्य खुश्बु ओली, गण्डकी अध्यक्ष पञ्चराम गुरुङ सहित नेताहरु  हिक्मत कार्की, त्रोत्र बहादुर वानिया, सालिकराम घिमिरे, गणेश बहादुर पौडेल क्षेत्री, विनोद घर्ती, वरुण विक्रम राणा, भानु भण्डारी क्षितिज, लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0