पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराको आयोजनामा राष्ट्रिय कर दिवस २०८२ सम्पन्न भएको छ । आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । 

राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले देश विकासको प्रमुख हिस्सेदार निजी क्षेत्र भएकोले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै करमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताइन् । उनले निजी क्षेत्रलाई व्यवसायिक वातावरण तयार गर्न र मनोबल उच्च बनाउने गरी कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । 

 आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव प्रसाद ढुङ्गानाले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउँदै करको दायरा विस्तार गर्दै लगिने बताए । उनले आर्थिक ऐन, २०८२ ले दिएका विभिन्न छुट सुविधाको लाभ लिनका लागी करदातालाई अनुरोध गरे । 

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी, पोखरा चेम्बर अफ कमर्शका अध्यक्षा उमराज बाँस्तोला,स्याङ्गजा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, स्याङ्जा चेम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मी, नेपाल चार्टड एकाउन्टेन्ट्स संघ कास्की अध्यक्ष दीपक भुर्तेल, आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत स्वागत थापा र उपेन्द्र लामिछाने लगायतका व्यवसायीको सङ्घ सङ्गठनका प्रतिनिधिहरूले व्यवसायीहरूको मनोबल उठाउने गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए । 

सोही कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आर के डी होल्डिङ्स लिमिटेडलाई सम्मान गरिएको थियो । यसैगरी कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्ट्रक्सन प्रालि लाई सम्मान गरिएको छ । सम्मान ग्रहण पश्चात आर के डी होल्डिङ्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले समेत बोलेका थिए । 

आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत २०८२ कात्तिक मसान्त सम्म व्यवसायीका स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ६९ हजार ८ सय ६ रहेको छ । जसमध्ये मूल्य अभिवृद्धि करमा १२ हजार ८ सय ६९, अन्तः शुल्कमा ४ हजार ५ सय ४२ करदाता आवद्ध छन् । पोखरा कार्यालय अन्तर्गत २ लाख १८ हजार १ सय २९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्। आन्तरिक राजस्व कार्यालय पोखराले कात्तिक मसान्तसम्ममा १ अर्ब ५० करोड २० लाख राजस्व सङ्कलन गरेको छ । जसमध्ये आयकर तर्फ ८१ करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ । यस्तै मूल्य अभिवृद्धि कर तर्फ ५२ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

अन्तः शुल्क तर्फ १२ करोड ७१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयले विलाशिता शुल्क वापत ३ करोड ७८ लाख राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले गत वर्षको सोही अवधीको तुलनामा १ करोड ५४ लाख बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा आन्तरिक राजस्व कार्यालय पोखराले १ अर्ब ६६ लाख ६६ हजार सङ्कलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0