पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकावासीले पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्र भएर  पनि उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेकाे बताएका छन् । गाउँपालिकाको वडा नं. ६ स्थित ह्याङ्जाकोट सामुदायिक होमस्टेमा माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने जनप्रतिनिधि सहितका स्थानीयले पोखराका पत्रकार माझ त्यस्तो बताएका हुन् । उपयुक्त प्रचार प्रसार हुन सकेको खण्डमा पालिका पर्यटन र खेलकुदको माध्यमबाट देश तथा विदेशमा चिनिन सक्ने सम्भावना बोकेको ठाउँ भएको उनीहरूले उल्लेख गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापका कारण समेत पालिकाले त्यहाँ भएका सम्भावनाको पूर्ण रुपमा फाइदा लिन नपाएको गुनासो समेत गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गाउँपालिकाको सहयोगमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङले पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहे पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको बताए । विभिन्न पर्यटकीय गन्तव्यलाई व्यवस्थित बनाई नयाँ गन्तव्यको समेत खोजी भैरहेको र आन्तरिक पर्यटक धेरै आउने गाउँपालिकाका गन्तव्यमा विदेशी पर्यटकलाई आकर्षण गर्ने योजनामा गाउँपालिका अगाडि बढेको उनले जनाए ।

अहिले कोर्चादेखी सैदीघट्टसम्म ठाडो सिधा सिढि बाटोलाई साहसिक खेल पर्यटन प्रबर्द्धन गर्नका लागि ‘इन क्लाइमिङ’ गुरुयोजना अघि सारेको बताए । सिधा सिढिको ठाडो बाटो बनाउने र त्यहाँ मानिसमात्र हिड्ने हुँदा साहसिक खेल पर्यटन प्रबर्द्धन हुनेमा आफूहरू आशावादी रहेको र यो योजना ३२ करोडको हुने उनले सुनाए । अहिले माछापुच्छ्रे गाउँपालिकाभित्र पर्ने पदमार्ग एवं पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकको चाप धेरै रहेको बताए । बाह्य पर्यटकहरू पहिले नै बुकिङ गरेर आउने तर आन्तरिक पर्यटकहरू बुकिङ नगरी आउने भएकाले तथ्याङ्क राख्न नसकिएको अध्यक्ष गुरुङले बताए ।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका कारण पालिकाले पर्यटन प्रवर्द्धनका लागि काम गर्न समस्या भएको बताइन् । पालिकाले पर्यटन शुल्क उठाउन सुरु गर्दा स्थानीय व्यवसायी र एक्यापको विरोधका कारण समस्या आएको सुनाउँदै संरक्षण क्षेत्रको नीति नियमहरूका कारण गाउँपालिकाको आन्तरिक राजस्वमा कमी आउन पुगेको बताइन्

प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले पनि एक्यापसँगको अन्तरद्वन्दकाकारण गाउँपालिकाकाले पालिका भित्रको स्रोत साधनको उचित प्रयोग गर्न नपाएको बताए । उनले गाउँपालिकाको दुर्गम क्षेत्र पर्यटकीय हिसाबले बढि सम्भावना बोकेको क्षेत्र भएपनि प्रचार प्रसारको कमी र एक्यापसँगको अन्तरद्वन्दका कारण अपेक्षित लाभ लिन नसकिएको बताए ।

माछापुच्छ्रे गाउँपालिका वडा नं। ६ का अध्यक्ष टेकनाथ  गौतमले उत्तरतर्फ फर्किएको भूबनोटका कारण  ह्याङ्जाकोट हिमालको मनोरम दृश्यावलोनका लागि उपयुक्त क्षेत्रका रुपमा रहेको बताए । प्रचूर पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पत्रकारीताको माध्ययमबाट प्रचार प्रसार गरिदिन उनले आग्रह गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरले पत्रकार, पालिका र स्थानीयबीच भएको अन्तरक्रियाले समन्वय सुदृढ बनाई पर्यटन प्रवर्द्धनमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे । अन्तरक्रियामा पत्रकार र स्थानीयबाट उठेको प्रश्नको जवाफ गाउँपालिकाले दिएको थियो । अन्तरक्रियामा ह्याङ्जाकोट सामुदायिक होमस्टेका सञ्चालकहरु, पत्रकार, पर्यटन व्यवसायी, जनप्रतिनिधिको उपस्थिति रहेको थियो । 

कार्यक्रममा   नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बराल, पर्यटन व्यवसायी हर्क बहादुर गुरुङ, हेम्जाकोट सामुदायिक होमस्टेका अध्यक्ष इश्वर गुरुङ, माछापुच्छ्रे गाउँपालिका वडा ५ का अध्यक्ष नारायण पौडल, वडा ६ का अध्यक्ष टेकनाथ गौतम, खेलकुद विकास समिति माछापुच्छ्रे गाउँपालिकाका सदस्य सचिव होमबहादुर गुरुङले बोलेका थिए ।

वक्ताहरूले पत्रकारहरूले गाउँपालिकाका पर्यटकीय सम्पदा, संस्कृतिको संरक्षण तथा प्रचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेलले स्वागत गरेको  कार्यक्रम महासचिव परशुराम शर्माले सञ्चालन गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0