पोखरा । पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय क्लब एपीएफलाई हराउँदै टिपटप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब शीर्षस्थानमा उक्लिएको छ । नव आदर्श सामुदायिक समाजको आयोजनामा इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा जारी लिगको अन्तिम खेलमा एपीएफलाई सोझो सेटमा हराउँदै शीर्षस्थान हासिल गरेको हो ।

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमन्डले दोस्रो सेट २५–२३ र तेस्रो सेट समेत २५–२३ ले हराउँदै शीर्षस्थानमा उक्लिएको हो । डायमन्डले लिग चरणमा गण्डकी र एभरेष्ट भलिबललाई ३–० को सोझो सेटमा हराएको थियो । राउन्ड रोविन लिगको आधारमा भएको खेलमा कुल चार टिमका सहभागिता रहेको थियो । शीर्ष दुई टिम सोझै फाइनल खेल्ने तालिका अनुसार डायमन्ड र एपीएफ यस अघि नै शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरिसकेका थिए ।

लिगको अन्तिम खेलको रुपमा रहेको यी दुई बिचको खेल फाइनल अघिको प्रशिक्षण सरह मानिएको छ । दुबै टिमले फाइनल अघि एक अर्काको रणनीतिलाई बुझ्ने अवसर पाएका छन् । एपीएफले आफ्नो बेन्चमा रहेका खेलाडीलाई कोर्टमा उतारेको थियो । उता डायमन्डले पनि बेन्चका खेलाडीलाई अवसर दिएको थियो ।

हारपश्चात एपीएफ दोस्रो स्थानमा रह्यो । एपीएफको कुल ३ खेलबाट ६ अङ्क रह्यो । एपीएफले लिग चरणमा एभरेष्टलाई ३–० को सोझो सेट र गण्डकीलाई ३–१ को सेटमा हराएको थियो ।

आजै भएको प्रतिष्ठाको खेलमा एभरेष्टले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट प्रतिस्पर्धात्मक रहेपनि नतिजा भने एभरेष्टको पक्षमा २६–२४ रह्यो । दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१९ ले हराउँदै एभरेष्टले जित हासिल गरेको हो । यो सँगै एभरेष्टले ३ खेलमा दुई जित एक हार सहित ३ अङ्क जोड्दा ३ खेलमै हार व्यहोरेको गण्डकी अन्तिममा रह्यो ।

यता पुरुषतर्फको खेलमा भने विभागीय डर्बी फाइनलमा प्रवेश गरेका छन् । नेपाल पुलिस र एपीएफ एक खेल अगावै फाइनल प्रवेश गरिसकेका छन् । एपीएफले र पुलिस पनि शीर्षस्थानमा को रहने भन्नेमा प्रतिष्पर्धा गर्नेछन् भने, फाइनल अघि यि दुईको पनि प्रशिक्षण खेल सरह नै रहने छ ।

तस्बिर : योगेन्द्र श्रेष्ठ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0