काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक वार्षिक कार्ययोजनामाथि छलफल र विभिन्न समसामयिक प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको छ । बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सम्पन्न भएको हो । भदौ १८ र १९ गते दुईदिन बसेको बैठकमा अध्यक्ष ओलीले दुबै दिन मुलुकको बदलिएको राजनीतिक परिस्थिति, सरकारका काम र पार्टीको आगामी कार्यभारका बारेमा सम्बोधन गरेका थिए।

अध्यक्ष ओलीले पार्टीले अगाडि सारेको मिसन–२०८४ सफल बनाउन सिङ्गो पार्टीपङ्क्तिमाथि ठूलो र महत्वपूर्ण अभिभारा रहेको स्मरण गराउँदै सोही बमोजिम एकताबद्धरूपमा पार्टी काममा जुट्न आग्रह गरे । अध्यक्ष ओलीले पार्टीलाई स्वतन्त्रतापूर्वक निर्णय गर्नसक्ने गरी सुदृढ, बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ हामी अगाडि बढेका छौँ भन्दै पार्टी राजनीतिक, वैैचारिक र सैद्धान्तिक रूपमा सुस्पष्ट रहेको बताए । उनले सम्बोधनका क्रममा पार्टी शुद्धीकरण र सुदृढीकरणको प्रसङ्गमा विशेष जोड दिएका थिए ।

बैठकमा महासचिव शङ्कर पोखरेलले यसवर्षको लागि तयार गरिएको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल गरिएको र यसक्रममा पोलिटब्युरोका ५१ जना सदस्यहरूले आ–आफ्ना सुझाव राखेका थिए। कार्ययोजनामाथि आएका सुझावहरू समेटेर सचिवालय बैठकले कार्यान्वयनको निर्णय गर्ने भएको छ ।

कार्ययोजना पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित वार्षिक कार्ययोजना पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने योजनामा केन्द्रित रहेको छ । विगतमा पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ का साथै ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने मान्यता अनुरुप पार्टीलाई जनस्तरमा स्थापित गर्नका लागि सम्पन्न गरिएको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’को विशिष्ट अनुभवसमेतका आधारमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यसहितको कार्ययोजना निर्माण गरिएको हो । बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण अन्तर्गत नेतृत्व विकास, स्थानीय तहसम्म जनसङ्गठन सुदृढीकरण र विस्तार, नयाँ पुस्तामा पार्टी काम, जनसम्बन्ध विस्तार र प्रवासमा समेत पार्टी कामलाई प्रभावकारी बनाउने विषयलाई विशेष जोड दिइने भएको छ ।

कार्ययोजनामा पार्टी सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण, नियमितरूपमा अधिवेशन आयोजना र व्यवस्थापन, पार्टी प्रवेश र पार्टीबाट बाहिरिएका/विदा भएकाहरूको व्यवस्थापन, पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कन, विधिसम्मत रूपमा पार्टी कमिटीको परिचालन र अन्तरविरोधको व्यवस्थापन, स्थायी रूपमा पार्टी स्कुल सञ्चालन र अभियानका रूपमा प्रशिक्षण, सरकार र जनप्रतिनिधिको प्रभावकारी परिचालन, पार्टी कार्यालयको व्यवस्थापन र सञ्चालन, व्यवस्थित प्रचार कार्य र प्रचार सञ्जालको विस्तार, कामका नयाँ क्षेत्रहरूको खोजी र जिम्मेवारी नपाएका कार्यकर्ताको परिचालन, बजेट निर्माण र स्रोत परिचालन, पार्टी जीवनको शुद्धीकरण, आर्थिक, सामाजिक रूपान्तरण र जनचासोका विषय सम्बोधन लगायत रहेका छन् ।

हीरक बर्षका लागि तय भएका काम यस बर्ष सम्पन्न गरिने कार्ययोजनामा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं बर्ष समारोहका लागि तय भएका र बाँकी रहेका कामहरू यसबर्ष सम्पन्न गर्ने उल्लेख गरिएको छ । सो अनुसार नेपाली कम्युनिष्ट आन्दोलनको आधिकारिक इतिहास लेखनको कामलाई तिब्रता दिने, ‘शेल्टर’ पुस्तक प्रकाशन गर्ने, माक्र्सवादको सिर्जनात्मक प्रयोग र सम्बन्धित मुलुकका अनुभवहरूमा केन्द्रित रहेर भाइचारा कम्युनिष्ट पार्टी, श्रमिक पार्टी र बामपन्थीहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने, कम्युनिष्ट आन्दोलनका क्रममा ऐतिहासिक महत्व राख्ने स्थलहरूको संरक्षण र सम्बर्द्धन गर्ने काम पनि यसबर्ष सम्पन्न गरिने भएको छ । बैठकले समसामयिक महत्वपूर्ण १३ वटा प्रस्ताव पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0