पोखरा । सहारा क्लब पोखराले यस वर्ष च्यारिटी डिनर नाइट कार्यक्रम गर्ने भएको छ । क्लबद्वारा पोखरा–१७, दोबिल्लामा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
तिहारमा हरेक वर्ष आयोजित हुँदै आएको देउसी भैलो कार्यक्रम यसपालि स्थगित गरी च्यारिटी डिनर नाइट कार्यक्रम गर्न लागिएको उनले प्रस्ट पारे । कार्यक्रम कात्तिक १४ गते शुक्रबार पोखरा माटेपानीस्थित एस.आर.केसी ब्याङ्क्वेटमा हुनेछ । जसमा स्थानीय कलाकारहरूले गायनका साथै हिमाली सांस्कृतिक परिवारले नृत्य प्रस्तुत गर्नेछ ।
एकेडेमी सहयोगार्थ भएकाले कार्यक्रममा सहभागी हुन चाहनेले जनही २५ सय बुझाउनुपर्नेछ । त्यसबापत खाना, खाना तथा विभिन्न सांस्कृतिक कार्यक्रम अवलोकन गर्न पाइनेछ । कार्यक्रमबाट बचत हुन आएको रकम एकेडेमीमा खर्चिने क्लब अध्यक्ष थापाले बताए ।
सहारा एकेडेमीका हाल चौथो ब्याचमा १४ जिल्लाका कठिन परिस्थिति तथा विपन्न वर्गका ३० जना बालकहरू आश्रित छन् । उनीहरूलाई क्लबले निःशुल्क आवासीय सुविधासहित शिक्षादीक्षा तथा फुटबल प्रशिक्षण दिँदैआएको छ ।
