काठमाडौँ । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते विद्यार्थीहरूको ज्यान गएको घटनाले आफूलाई अति दुखित तुल्याएको बताएका छन् । 

आइतबार सम्पादकसँगको छलफलमा बोल्दै ओलीले सो घटनामा चलेको गोली सुरक्षामा खटिएको प्रहरीको गोली नभएको बताए। २३ गतेको घटना २४ गतेको घटनाको लुटपाट, तोडफोड र आगजनीको पूर्वतयारी स्वरूप भएको दावी उनको छ। 

ओलीले देश आफ्नो मात्रै नभएको बताउँदै देश बिग्रँदा आफूले मात्रै दुःख नपाउने उल्लेख गरे। आफू ७३ वर्षको भइसकेको बताउँदै उनले  यो देशमा धेरै बाँच्नु पर्नेले देशको बारेमा चिन्ता गर्नुपर्ने स्पष्ट पारे। 

उनले जेनजीको माग अनुसार भ्रष्टाचारको छानबिन गर्न माग गरे  । अरूको नभए पनि आफ्नो सम्पत्ति छानबिन गरिदिन उनको आग्रह थियो । त्यो छानबिन नेपाल पत्रकार महासङ्घ वा सम्पादक समाजले गरिदिए पनि हुने उनले सुनाए  । ‘मेरो घरको खरानीको कण–कणको हिसाब गर्नुपर्ने छ’, उनले भने। 

ओलीले भ्रष्टाचार र असोज २३, २४ को घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य पत्ता लगाउन आग्रह गरे । ‘ओलीले सत्य स्थापित होस् म चाहन्छु सत्य स्थापित होस्’, उनले थपे। 

ओलीले पत्रकार हिम्मतिलो जात भएको बताउँदै सत्य बोल्न आग्रह गरे । केपी ओलीको विरुद्ध मात्र हिम्मतिलो होइन अपराध गर्नेका विरुद्ध पनि हिम्मतिलो हुन उनले पत्रकारलाई आग्रह गरे । 

ओलीले अहिले सबैभन्दा ठूला भ्रष्टाचारीहरूको भ्रष्टाचार विरुद्धको आवाज सबैभन्दा ठुलो भएको उनले दाबी गरे। उनले भ्रष्टाचारको एक दिन छानबिन गर्ने दिन आउने र त्यो चाँडै आउने दाबी गरे। ‘यो चर्का स्वरले दबाउँछु भन्ने ठानेको होला, एक दिन आउँछ, छानबिन गर्ने दिन आउँछ’, उनले भने । 

ओलीले आफूले जेनजीसँग छलफल गरेको बताउँदै उनीहरूले आफ्ना आन्दोलन हाइज्याक भएकोले हजुरआमालाई प्रधानमन्त्री बनाइएको बताएका जानकारी दिए । जेनजी आन्दोलनमा भदौ २३ देखिनै घुसपैठ भएको र २४ गते सार्वजनिक र व्यक्तिगत संरचना कोट गरेरै जलाइएको ओलीको भनाइ छ । 

अहिले अपराधिको खोजी गर्ने र कारबाही गर्ने भन्दा पनि केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर सरकार लागेको उनले बताए । तर, आफूलाई पक्राउ गर्ने र दोषी प्रमाणित गर्ने कुनै ठाउँ नभएको उनले दाबी गरे । 

आफू सोझो भए पनि जस जसले जहाँ जहाँ आयोग बनाउँछन्, जहाँ जहाँ बोलाउँछन् त्यहाँ त्यहाँ बयान दिन नजाने ओलीले बताए । 

ओलीले भदौ २४ गते पदबाट राजीनामा दिएपछि सेनाको सुरक्षामा रहेको र भदौ २७ गतेसम्म मोबाइल सम्पर्क विहीन रहेको खुलाए । आफू सधैँ लोकतन्त्रको पक्षमा रहेको बताउँदै एमालेमा नेतृत्वको कुनै अभाव नभएको स्पष्ट पारे। नेतृत्व गर्ने मानिस नभएर आफू एमालेमा बसिनरहेको ओलीले बताए। समय र आवश्यकताको मागको आधारमा आफू एमालेको अध्यक्ष भइरहेको उनको धारणा छ । 

आफू रातदिन नभनेर देशका लागि समर्पित भएको दाबी गरे । आफू प्रधानमन्त्री नहोस् भनेर कसैले पूजा गरे हुने बताउँदै जनताले पठाए भने फेरी प्रधानमन्त्री हुने दाबी गरे । 

उनले जनतालाई केपी ओली फेरी फर्केर आउला कि भन्ने डर भए चुनावमा भोट नहाल्ने बताए। त्यसैले केपी ओली फेरि आउला कि भन्ने डर भए जनताले नै बाहिर राख्ने उनले दावी गरे । 

ओलीले अहिलेको अन्तरिम सरकार संविधान अन्तर्गत बनेको सरकार नभएको बताए । जेनजीका नाममा स‌ंवैधानिक बाटाे हुँदा हुँदै अहिलेकाे सकार गलत बाटाे हिँडेकाे उनको दाबी छ । 

केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको हो भनि माओवादी अध्यक्ष प्रचण्डले सफेद झुट बोलेको पनि उनले जानकारी दिए । आफूले संविधान भित्रबाट उपयुक्त माध्यमबाट आवश्यक कदम चाल्न राष्ट्रपतिलाई सिफारिस गरेको ओलीको दाबी छ । माओवादी अध्यक्ष प्रचण्डले प्रमाण छ भन्दै हिँडेका बताउँदै ओलीले प्रमाण भए सार्वजनिक गर्न चुनौती  समेत दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0