पोखरा । दुई दशकभन्दा बढी समयदेखि नाटक निर्देशन, अभिनय तथा लेखनमा सक्रिय घिमिरे युवराजद्वारा लिखित ‘लस्ट एण्ड फाउण्ड’ किताबको चर्चा पोखरामा गरिएको छ । र्याण्डम रिडर्स सोसाइटी नेपालले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा लेखक कुमार नगरकोटी र घिमिरे युवराज गफिए । उनीहरूले किताबसँग सम्बन्धित रहेर रोचक संवाद गरेका थिए ।
लेखक घिमिरेले सहरको निसास्सिएको जीवन र सम्बन्धमा आफ्नो रुचि भएकाले नाटकमा आफूले त्यही विषय समेटेको बताए । उनले नाटक लेख्नु र अन्य विधामा लेख्नु फरक रहेको बताए । अन्य विधामा पात्रले अनुभव गरेका कुरालाई लेखकले आफ्नो हिसाबले चलाउन पाउने तर नाटकमा संवादको माध्यमबाट नै घटनाहरूलाई चित्रित गर्नुपर्ने मुख्य चुनौतीका रुपमा रहने बताए ।
नाटक ‘लस्ट एण्ड फाउण्ड’लाई विभिन्न भाषामा अनुवाद गरेर सबटाईटल सहित जर्मनी, डेनमार्क र स्विडेनका विभिन्न सहरहरूमा मञ्चन गरिएको लेखक घिमिरेले बताए । नेपाली नाटकमा नयाँपन दिन प्रयास गरिएको उनको भनाई छ । साहित्य र कलाको माध्यमबाट विश्वमा नेपालको पहिचान बदल्न सकिने र त्यसका लागि लेखकहरूले थप मेहनत गर्न जरुरी रहेको उनले औँल्याएका छन् । ।
लेखक घिमिरे युवराज शिल्पी थिएटरका कला निर्देशक पनि हुन् । आख्यानकार नगरकोटीले विभिन्न प्रंसग निकाल्दै किताब लेखन र नाटक यात्राका बारेमा जिज्ञाशा राखेका थिए ।र्याण्डम रिडर्स सोसाइटी नेपालका अध्यक्ष दीपक पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन सचिव ध्रुव केसीले गरे । कार्यक्रममा युवराज र कुमारले कविता समेत सुनाएका थिए । शनिबार नै नाटक ‘लस्ट एण्ड फाउण्ड’ पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन समेत गरिएको छ ।
