पोखरा । टिकाराम सुवेदीको ‘माध्यमिक नेपाली व्याकरण अभिव्यक्ति र अभ्यास’ पुस्तक पोखरामा लोकार्पण गरिएको छ । मानव मिलन संस्थाका संस्थापक राष्ट्र सन्त नेपाल केशरी डा.मणिभद्रजी महाराजको सानिध्यमा कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत पोखरा बाग्लुङ इजलासका न्यायाधीश डण्डपाणी शर्माले लोकार्पण गरेका हुन् । यो पुस्तक कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि उपयोगी छ । पुस्तकको लेखन तथा सम्पादन सुवेदीले गरेका हुन् ।
पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यायाधीश शर्माले कुनैपनि समाज र राष्ट्रको पहिचान एवं अस्तित्व त्यस ठाउँको भाषा, साहित्य र संस्कृतिले निर्धारण गर्ने भएकाले भाषा संस्कृतिको महत्व रहेको बताए । उनले व्याकरणलाई भाषाको मुटुको रुपमा रहेको बताउँदै नेपालको संविधानले पनि नेपालमा बोलिने प्रत्येक भाषालाई राष्ट्रभाषाको रुपमा लिएको बताए ।
वि.सं.२०२६ माघ १३ गते स्याङ्जाको फेदीखोला गाउँपालिका ४, आरुखर्कमा पिता स्व. वसन्त उपाध्याय सुवेदी र माता कृष्णकुमारी सुवेदीको कोखबाट जन्मिएका लेखक टिकाराम सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट एमए, नेपालीमा विएड गरेका छन् । लामो समयदेखि नेपाली भाषाको अध्यापन गराउँदै गर्दा आफूलाई व्याकरणको अभिव्यक्ति र अभ्यासबीच खाडल महसुस भएको लेखक सुवेदीले बताए । व्याकरणलाई सहज बनाउनका लागि आफूले किताबमा तालिकाबद्ध र चित्र सहित प्रस्तुत गरेको बताए । किताबमा ३ खण्ड ५२ अध्याय र त्यसभित्र उपशिर्षकहरू रहेको उनको भनाई छ ।
सुवेदीले यसअगाडि पनि निबन्ध सङ्ग्रह पाठकमाझ पस्केका थिए । उनी म्याग्दीको बुद्धि विकास माविको सह प्राध्यापक हुन् । कार्यक्रममा राष्ट्र सन्त नेपाल केशरी डा।मणिभद्रजी महाराजले सदाझैँ प्रवचन दिएका थिए । प्रवचनसँगै उनले लेखक सुवेदीलाई शुभकामना दिदैँ भाषाले व्याकरणको प्रतीक्षा नगर्ने बताए ।
कार्यक्रममा मानव मिलन संस्थाका राष्ट्रिय अध्यक्ष नारायण प्रसाद पौडेल, फेदिखोला गाउँपालिका ४ का वडाध्यक्ष ख्यामनारायण पौडेल, सिद्धार्थ बहुमुखी क्याम्पसका प्रमुख पुष्पराज बराल, लेखक रविन्द्र माकाजु लगायतले बोलेका थिए ।
मानव मिलन संस्था पोखराका अध्यक्ष गुप्त प्रसाद शर्माको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रमको मानव मिलन संस्था अन्तराष्ट्रिय महिला सचिव सावित्री शर्माले सञ्चालन गरेकी थिइन् । माध्यमिक नेपाली व्याकरण अभिव्यक्ति र अभ्यास” पुस्तकको प्रकाशक ढाकादेवी सुवेदी हुन् ।
