पोखरा । पोखरामा शनिबार छैटौँ स्वन्ति नखः महोत्सव सम्पन्न भएको छ । नेपाल सम्वत् ११४६ एवं स्वन्ति नखःको अवसरमा संस्कृति संवर्द्धन तथा स्थानीय उत्पादन प्रवर्द्धनको लागि महोत्सव आयोजना गरिएको हो । नेवा खलः कास्की र नेवा मिसा पुचः कास्कीको आह्वानमा नेवाः मिसा पुचः पृथ्वीचोकको आयोजनामा भएको महोत्सवमा पोखरा महानगरपालिका वडा नं। ९ ले विशेष सहयोग गरेको थियो ।
तिहारको समयमा नेवार समुदायले मनाउने तीन पर्वहरू लक्ष्मीपूजा, म्हःपूजा र किजापूजा अर्थात भाईटिकालाई नेपाल भाषामा स्वन्ति नखः भनिन्छ । महोत्सवमा स्वन्ति नखःमा प्रयोग हुने विभिन्न पूजा सामग्री तथा मिठाईका परिकारहरू बिक्रीका लागि राखिएको थियो । महोत्सवमा नेवारहरूले गर्ने म्हःपूजा, किजापूजाको डेमोसमेत देखाइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं। ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले नेवार समुदाय कला संस्कृतिको धनी समुदायका रुपमा रहेको बताए । जनप्रतिनिधिमा निर्वाचित भएर आइसकेपछि कला संस्कृति जगेर्नासँगै स्थानीय उत्पादन प्रवर्द्धनका लागि हुने कार्यक्रमहरूमा निरन्तर साथ र सहयोग गर्दै आइरहेको बताए ।
महोत्सवको सहआयोजकका रुपमा नेवाः मिसा पुचः चिप्लेढुङ्गा, नेवाः मिसा पुचः न्यूरोड, नेवाः मिसा पुचः महेन्द्रपुल, नेवाः मिसा पुचः नयाँबजार रहेका थिए । यसका अलावा नेवाः खल कचाः पृथ्वीचोक र नेवाः ल्याम्ह पुचः पृथ्वीचोकले सहयोग गरेको थियो ।
कार्यक्रममा नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले स्वन्ति नखःको महत्वबारे बोलेका थिए । उनले नेपाल संवत्अनुसार पोखरामा हरेक वर्ष नयाँवर्षको दिन भिन्तुना र्याली निकाल्दै आइरहेको बताउँदै यसवर्ष पनि कार्तिक ५ गते नेपाल सम्वत् ११४६ को पहिलो दिन र्याली निकालिने बताए । उक्त र्यालीमा झाँकी सहित उपस्थित हुन उनले कास्कीका नेवा खलः, नेवा मिसा पुचः, ल्याम्ह पुचः लगायतले आग्रह गरेका छन् । बिहान ८ बजे माटेपानीस्थित शितलादेवी मन्दिरबाट र्याली सुरु हुने छ ।
सोही कार्यक्रममा नेवाः मिसा पुचःकास्कीका संस्थापक अध्यक्ष शान्ति उदासले अन्तर्राष्ट्रिय अवार्ड पाएकोमा सम्मान गरिएको थियो । कार्यक्रममा सहारा आधारभुत विद्यालयका अध्यक्ष विक्रम थकाली, नेवाःमिसा पुचःकास्की अध्यक्ष सङ्गीता बज्राचार्य लगायतले बोलेका थिए । नेवाः मिसा पुचः पृथ्वीचोक अध्यक्ष रोमा रजक अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नविना श्रेष्ठले स्वागत गरेकी थिइन् भने सञ्चालन सचिव सर्मिला बाटाजुले गरिन् ।
