पोखरा । पोखरा १५ मा रहेको पोखरा गौशालाले आँउदै गरेको गाई तिहारको उपलक्ष्यमा पञ्चदिवसीय गाई पूजा महोत्सव गर्ने भएको छ । महोत्सव कार्तिक २ गतेदेखि ६ गतेसम्म पोखरा १५ मा रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र नजिकै रहेको पोखरा गौशाला परिसरमा हुने छ । महोत्सवमा १ सय ११ मौलिक प्रजातिका गाईको दर्शन गर्न सकिने पोखरा गौशालाका अध्यक्ष ललित बहादुर कुँवरले जानकारी दिए ।
८ वर्षअघि सडकमा छाडिएका ५ वटा गाईबाट सुरु भएको पोखरा गौशालामा हाल एक सय एघार वटा गाई रहेका छन् । पोखरा गौशाला छाडा छोडिएका स्थानीय प्रजातिको गाईहरूको सेवामा समर्पित छ । नेपालको राष्ट्रिय जनावर गाईको मौलिक प्रजाति विस्तारै हराउँदै गइरहेकोले अहिलेको पुस्तालाई गाईको महत्वबारे बुझाउनका लागि पनि गाई पूजा महोत्सव महत्वपूर्ण हुने बताए ।
गौशालाका परिकल्पनाकार समेत रहेका कोषाध्यक्ष नन्द गोपाल दास (ई.नरेन्द्र बहादुर कुँवर) ले सडकमा छाडिएका गाईको तत्काल उद्धार गरेर संरक्षण दिदैँ आएको बताए । उनले पोखरामा सडकबाट गाई हटाउनका लागि गौशाला सञ्चालनमा रहेको बताउँदै आफूहरूले भने स्थानीय प्रजातिका गाई संरक्षणमा जोड दिएको बताए ।
गौशालाका परिकल्पनाकार नन्द गोपाल दास भारतको टाटा कम्पनीमा ८ वर्ष र बेलायतमा २ वर्ष गरी कुल १० वर्ष सफ्टवेयर इन्जिनियर सम्बन्धी काम गरेका व्यक्ति हुन् । उनले श्रीमद्भागवत गीताबाट प्रेरित भई जागिर त्याग गरि गौशाला स्थापना गरेका हुन् ।
पञ्चदिवसीय गाई पूजा महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति उपाध्यक्ष सूर्य सुवेदीले अहिले मानिसहरूले गाईको दूधको सट्टा भैसीको दूधको प्रयोगलाई बढावा दिइरहेको बताउँदै गाईको दूधको महत्व बारे सर्वसाधारणलाई बुझाउन जरुरी रहेको बताए । उनले पोखरा गौशालामा रहेको गाईको संरक्षण र सेवाका लागि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको तर्फबाट सक्दो साथ र सहयोग गर्ने बताए ।
पोखराको अमरसिंह चोक, काजीपोखरी, निराजन चोक, गलेश्वर मन्दिर हुँदै पोखरा गौशालासम्म पुग्न सकिने कार्यक्रम संयोजक लक्ष्मण पौडेल (हरिओम गुरु) ले जानकारी दिए । कार्यक्रमको सञ्चालन सचिव माया केसीले गरेकी थिइन् । पोखरा गौशालामा गोठमा पालेर भन्दा मुक्त तरिकाले चरण क्षेत्रमा छोडेर गाई पालन हुँदै आएको छ । गौशालामा रहेका गाईका लागि घाँसपातको जोहो गर्न वर्षामा सहज भएपनि अन्य समयमा भने समस्या पर्ने गरेको बताइको छ । पछिल्लो समयमा सहयोगी मनहरु जोडिदै जाँदा केही सहजता भएपनि पर्याप्त भने नरहेको बताइएको छ । यहाँ ‘म एउटा गाई पाल्छु अभियान’ समेत चलिरहेको छ ।
