पोखरा । आज अक्टोबर १५ विश्व सेतो छडी दिवस, नेपालमा पनि अपाङ्गता तथा विशेष गरी दृष्टिविहीनका क्षेत्रमा कार्यरत सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । नेपालमा २०५५ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा बुधबार पोखरामा एक प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । कास्की नेत्रहीन सङ्घ, नेपाल नेत्रहीन सङ्घ गण्डकी प्रदेश र नेपाल दृष्टिविहीन कल्याण सङ्घ कास्कीको संयुक्त आयोजनामा भएको कार्यक्रममा दृष्टिविहीनहरूले हातमा सेतो छडी लिएर पोखराको सिर्जनाचोकदेखि सभागृहचोक, पृथ्वीचोक हुँदै जिल्ला ट्राफिक कार्यालय कास्की सम्म पदयात्रा गरेका थिए ।
पदयात्रा पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा दृष्टिविहीनहरूले भोग्नुपरेको समस्या लगायतका बारेमा बृहत छलफल भयो । सोही कार्यक्रममा २० थान सेतो छडी समेत वितरण गरियो ।
कार्यक्रममा बोल्दै नेपाल नेत्रहीन सङ्घका केन्द्रिय सदस्य लक्ष्मण सुवेदीले सेतो छडी दृष्टिविहीनहरूको पहिचान भएको र यसको ठूलो शक्ति रहेको बताए । यसको प्रयोगले आत्मविश्वास बढाउदै निर्धक्कका साथ हिड्न सक्ने बनाउने उल्लेख गरे । दृष्टिविहीनको लागि यो आधारभुत कुरा भएको भन्दै नेपाल नेत्रहीन सङ्घले सेतो छडी किन्न पनि नलगाउने र विहीन पनि नबनाउने उद्देश्य राखेर कार्य गरिरहेको भनाइ उनको थियो । सबै दृष्टिविहीनसँग सेतो छडी हुनु अनिवार्य भएकोमा उनले जोड दिए ।
जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक राजकुमार केसीले आफूहरूले अपाङ्गता भएका व्यक्ति सहित वृद्ध बालबालिका लगायतलाई पहिलो प्राथमिकता दिने गरेको बताए । यसलाई निरन्तरता दिने हिड्न डुल्न सहज बनाउने प्रतिवद्धता उनको थियो । आम सर्वसाधारणलाई पनि दृष्टिविहीन सहितका अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्न उनले आग्रह गरे ।
कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले सेतो छडीको महत्व र आवश्यकता तथा यसका प्रयोग कर्ताले सडक देखि दैनिक जीवनयापनमा भोग्नु परेका समस्या सहित समाधानका विकल्पहरूको बारेमा समेत कार्यक्रममा छलफल भएको बताए । कार्यक्रमको उद्देश्य सेतो छडी अनि यसको सही प्रयोग गर्ने सीपका विषयमा सरोकारवालालाई सचेतना जगाउने रहेको उल्लेख गरे । दिवसका सन्दर्भमा यस क्षेत्रका सरोकारवालालाई पत्राचार र भेटघाट मार्फत घच्घच्याउने योजना रहेको उनले खुलाए ।
नेपाल नेत्रहीन सङ्घ गण्डकी प्रदेश अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा पत्रकार श्यामनाथ कुँवर र शिवराज बस्ताकोटी, नेपाल दृष्टिविहीन कल्याण सङ्घ कास्कीका सचिव लोक बहादुर गुरुङ लगातले बोलेका थिए । कार्यक्रमको सञ्चालन कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले गरेका थिए । कार्यक्रममा सहभागीले वर्तमान सरकारमा अपाङ्गता भएका व्यक्तिहरुको समेत सहभागीता हुनुपर्नेमा समेत जोड दिएका थिए ।
कार्यक्रममा कास्की नेत्रहीन सङ्घ, नेपाल नेत्रहीन सङ्घ गण्डकी प्रदेश र नेपाल दृष्टिविहीन कल्याण सङ्घ कास्की सहित गण्डकी प्रदेशमा रहेका दृष्टिविहीन तथा उनीहरूको क्षेत्रमा काम गर्ने संस्थामा आवद्धहरूको सहभागिता रहेको थियो । दिवसको अवसरमा कास्कीको भेडावारीमा समेत सेतो छडी वितरण गरिएको बताइएको छ ।
