पोखरा ।  नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति पोखराले जेनजी आन्दोलनका क्रममा पूर्ण रुपमा क्षति ग्रस्त मालपोत कार्यालय, कास्कीको लागि दुई संरचना  निर्माण गरि हस्तान्तरण गरेको छ । 

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति पोखराले ३१ औँ स्थापना दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरेर संरचनासँगै कार्यालय सञ्चालनका लागि आवश्यक सामाग्रीहरू हस्तान्तरण गरेको हो । आगजनीबाट खण्डहर बनेको मालपोत कार्यालयको नवनिर्मित भवनमार्फत कार्यालय सञ्चालनका लागि लेखापढी व्यवसायी, शुभेच्छुक व्यक्ति, सङ्घ संस्था र व्यवसायिक प्रतिष्ठानहरूबाट सहयोग सङ्कलन गरिएको थियो । 

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भदौ २३ र २४ गते भएको आन्दोलनमा घुसपैठ गरि जेनजीलाई बदनाम गर्ने प्रयास भइरहेको बताउँदै धमिलो पानीमा माछा मार्ने काम भएको बताए । काठमाडौँ पछाडि बाहिरी जिल्लाका मानिसहरूले सबैभन्दा बढि जग्गा खरिद गरेको जिल्लाका रुपमा कास्की रहेको बताए । पोखरा महानगरपालिकामा मात्रै एक लाख ४८ हजार सात सय २५ घर रहेको बताउँदै आगजनीका कारण ती घर र त्यससँग सम्बन्धी अचल सम्पत्तिको स्रेस्ता भएको मालपोत कार्यालय कास्कीमा हाल कुनैपनि भौतिक रेकर्ड बाँकी नरहेकोप्रति दुःख व्यक्त गरे ।  

 पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गर्नेक्रममा हाइड्रोजनले भरिएको बेलुन पड्किएर घाईते भएको स्मरण गर्दै उनले जेनजी आन्दोलनको क्रममा घुसपैठ गरि त्यस्तै प्रकारका अतिप्रज्ज्वलनशील पदार्थ प्रयोग भएको हुनसक्ने आशङ्का व्यक्त गरे । मेयर आचार्यले जेनजी आन्दोलनमा भएको आगजनीबाट पोखरा महानगरपालिकाका २६ वटा वडामा क्षति पुगेको र ती वडाहरूलाई असोज १ गतेदेखि सञ्चालनमा ल्याइएको बताए । आगजनीबाट महानगरमा २ अर्बभन्दा बढिको क्षति भएपनि महानगरभित्र रहेका सार्वजनिक सेवासँग जोडिएका कार्यालयहरू सञ्चालनमा आउनुपर्छ भनेर सकेको साथ र सहयोग अगाडि बढाइरहेको उनको भनाई छ ।  

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले कास्कीमा यातायात कार्यालय मार्फत ब्लुबुकको सन्दर्भमा सबै काम सुचारु भएको र लाइसेन्ससम्बन्धी काम भने केन्द्रिय सर्भरका कारण देशभर नै अवरुद्ध रहेको र हालै सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेको बताए । गण्डकी प्रदेशमा राजस्वको दायरा कम भएका कारण पनि प्रदेश मातहतका कार्यालयहरूको पुनःनिर्माणमा समस्या आएको प्रमुख सचिव घिमिरेको भनाई छ ।

मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पोखरेलले जति सक्दो चाँडो मालपोत कार्यालयको सेवा पुनः सुचारु गर्ने बताए । कार्यालय सञ्चालन एवं पुनः निर्माणका लागि थुप्रै व्यक्ति तथा संस्थाले सहयोग गरेको बताउँदै सहयोगीहरुलाई आभारसमेत व्यक्त गरे ।

इकाइ अध्यक्ष मौसम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा  कलाकार कृष्ण कडेल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखापढीका गण्डकी संयोजक  खडानन्द लामिछाने, इकाइ पोखरा कोषाध्यक्ष नरेश तिवारीले बोलेका थिए भने कार्यक्रमको सञ्चालन लिला गिरीले गरेकी थिईन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0