पोखरा । नाटक ‘मुनामदन’ टिम यतिबेला स्याङजा जिल्लाको स्याङजा बजारमा रहेको छ  । असोज २६ र २७ गते स्याङजा बजारमा रहेको सिटी हलमा नाटक मञ्चन गर्न पुगेको टिमले दर्शकको साथ पाएको छ । जसका कारण नाटक मञ्चनको समय एक दिन थप भएको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले दिएको जानकारी अनुसार आज असोज २८ गते मङ्गलबार पनि स्याङ्जा बजारमा नाटक मञ्चन हुनेछ । यसरी दर्शकको माया पाउँदा नाटक युनिट उत्साहित भएको छ ।
नाटक यसपछि वालिङमा मञ्चन हुने भएको छ ।  विपि चोक वालिङको शुभम् पार्टी प्यालेस एण्ड प्रकाश क्याटरिङमा असोज २९ र ३० गते हुने मञ्चनमा समेत दर्शकको साथ पाउने विश्वास परिवर्तनले गरे । वालिङमा दुई दिन नै बिहान ८ र ११ बजे तथा दिउँसो १ बजे गरेर दैनिक तीन सो मञ्चन हुने नाटक असोज २९ गते साँझ ५ बजे विशेष सो मार्फत समेत हेर्न पाइने बताइएको छ । 
वालिङमा नाटक मञ्चनको लागि स्थानीय संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ ले गर्नेछ ।

नाटकमा मुना र मदनको अमर प्रेमलाई दर्शाइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको मुनामदन खण्डकाव्यमा आधारित यो नाटकको परिकल्पना र निर्देशन परिवर्तनले गरेका छन् ।

पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यो नाटकमा परिवर्तन, कृष्टि गुरुङ, रमेश तिमल्सिना, धनकाजी श्रेष्ठ, रञ्जु दाहाल, प्रकाश रेग्मी, उत्सर्ग सुवेदी, शीतला अधिकारी, सुसन पौडेल, विष्णु खड्का कार्की, अर्जुन शर्मा, अञ्जली शाही, लगायतको अभिनय हेर्न पाइन्छ ।

सङ्गीत संयोजन मिलन गिरी, शब्द संयोजन विवेक देवकोटाले गरेका छन् । प्रकाश परिचालन श्रीकृष्ण भण्डारी, साउण्ड परिचालन विकास अधिकारी र कोरियोग्राफीमा सरिता थापा मगर रहेका छन् । यसका अलावा अप्सरा बयलकोटी, बिनिता बयलकोटी, राहुल श्रेष्ठ, प्रतीक घिमिरे, बिपिन ओझा, अस्मिता गोदार, विकास फगामी मगर लगायतले नाटक युनिटमा रहेर सघाउनेछन् ।

नाटकका निर्देशक तथा परिकल्पनाकार परिवर्तनले मुनामदनको गरिमा बचाउन चुनौती रहेको भन्दै झ्याउरे लयमा रहेको खण्डकाव्यलाई शास्त्रीय सङ्गीतको प्रयोग सहित दृश्यमा केही फरकपना दिन खोजेका बताए । यस अगाडि हेरिरहेको मुना मदन भन्दा यसमा केही न केही पृथकता महसुस गर्न पाइने उनको भनाइ छ । 

मुनामदन नाटक लेख्दाको तत्कालीन समय र अहिलेको समयको सान्दर्भिकतालाई नाटकमा जोड्न खोजिएको छ । प्रेमको कुरा मात्र नभएर यसले उठाएको रोजगारको लागि विदेश जाने सिलसिला तथा त्यसले ल्याएका विभिन्न उतार चढावलाई सुन्दर ढङ्गले पस्कने प्रयास नाटकमा गरिएको छ । महाकवि लक्ष्मी प्रसाद देवकोटाले मुनामदन लेख्दादेखि अहिलेसम्म नेपाली समाजमा भएका परिवर्तनको बारेमा समेत नाटकमा हेर्न पाइने उनले खुलाए । १ घण्टा ४५ मिनेट अवधिको यो नाटक माग भएको खण्डमा अन्य जिल्लामा समेत मञ्चन गरिने तयारी गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0