पोखरा । नेकपा एमालेका भातृ सङ्गठन  राष्ट्रिय युवा सङ्घ नेपाल र‌ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी, लुटपाटमा संलग्नलाई यथाशीघ्र पक्राउ नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमा संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउँदै सो चेतावनी दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेल र राष्ट्रिय युवा सङ्घ नेपाल कास्कीका अध्यक्ष उमेश गुरुङले ध्यानाकर्षण पत्र बुझाएका हुन् । गत भाद्र २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति र व्यक्तिगत सम्पत्तिमाथी आगजनी, तोडफोडसँगै कारागारमा रहेका कैदीहरू समेत छुटेको र यसले जनमानसमा त्रास सिर्जना गरेको भन्दै यसतर्फ अनेरास्ववियु तथा राष्ट्रिय युवा सङ्घको ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलले आन्दोलनको फाइदा उठाएर देशमाथि गद्दारी गर्नेलाई र घुसपैठ गर्ने व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकारलाई दबाबस्वरूप ध्यानाकर्षण पत्र बुझाइएको बताए ।

आन्दोलनको क्रममा कास्कीका सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय र निजी सम्पत्ति समेत तोडफोड तथा आगजनी भएको थियो। संयुक्त ध्यानाकर्षणपत्रमा आन्दोलनका क्रममा भएका आपराधिक गतिविधिहरू योजनाबद्ध रुपमा अराजक तत्त्वहरूद्वारा भएको पुष्टि भएको उल्लेख छ। राष्ट्रिय युवा सङ्घका केन्द्रिय सदस्य एवं कास्की जिल्ला इन्चार्ज शिवहरी सुवेदीले यही वातावरणमा निर्वाचन हुनसक्ने अवस्था नरहेको समेत बताए ।  उनले अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याउनुपर्ने र क्षति भएकालाई सरकारले तत्काल क्षतिपूर्ति दिनुपर्ने बताउँदै आवश्यक परेमा सडक आन्दोलनमा जान बाध्य हुने बताए ।

राष्ट्रिय युवा सङ्घ नेपाल, कास्कीका अध्यक्ष उमेश गुरुङले परिवर्तनको नाममा देशमा अशान्ति फैलाउने  गतिविधि र  विदेशी हस्तक्षेप सह्य नहुने बताउँदै जस्तालाई त्यसरी नै जवाफ फर्काउने चेतावनी दिए ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मागलाई सम्बोधनका लागि पहल गर्ने बताउँदै जिल्लामा शान्ति सुरक्षा कायम गर्ने र संयमता अपनाउने विषयमा युवा संघ तथाअनेरास्ववियुको निरन्तर प्रयास रहनुपर्ने बताइन्

गत भदौ २३ र २४ गते देशव्यापी रुपमा भएको जेनजी आन्दोलनको क्रममा भएका गतिविधिहरूले मुलुकको कानूनी व्यवस्था, राष्ट्रिय सम्पत्ति र जनसुरक्षा माथि गम्भीर चुनौती उत्पन्न गरेको अनेरास्ववियु तथा युवा सङ्घको दावी छ। आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीहरूले देशका विभिन्न स्थानहरुमा अपराधिक घटनाहरुमा संग्लन रहेको खबर बाहिर आईरहेकोले मुलुकको आन्तरिक सुरक्षामा थप जोखिम निम्ताए‌को अनेरास्ववियु र युवा संघले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0