पोखरा । आज शनिबार अन्तर्राष्ट्रिय बालिका दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । दिवस सन् २०११ देखि हरेक वर्ष अक्टोबर ११ मा मनाइन्छ । अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपाल, गण्डकीले वडा प्रहरी कार्यालय बैदाममा सेनेटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गरेर यो दिवस मनाएको छ ।
एएचएफ नेपालका गण्डकी प्रदेश कार्यक्रम संयोजक, विद्या कोइरालाले वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईलाई सेनेटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गरेकी थिइन् । कार्यालयमा सेनेटरी प्याड भेन्डिङ मेसिन भएपछि हिरासतमा रहने महिला तथा कार्यालयमा रहेका महिला प्रहरीहरूका लागि सहजता हुने संयोजक कोइरालाले बताइन् । एएचएफ नेपालले एचआईभी सङ्क्रमित बालिकाहरूलाई परामर्शसँगै शिक्षामा समेत सहयोग गर्दै आएकोमा यसवर्ष हिरासतमा रहने महिला र महिला प्रहरीहरूको महिनावारी स्वच्छताको ख्याल राख्दै भेन्डिङ मेसिन प्रदान गरिएको उनको भनाइ छ । दिवसको पूर्वसन्ध्यामा यसअघि शुक्रबार बालिकाहरूलाई महिनावारी स्वच्छताका सम्बन्धमा सचेतना कार्यक्रम गरिएको उनले जनाइन् ।
मेसिन हस्तान्तरण गर्न आयोजित कार्यक्रमकै अवसरमा वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरीहरूलाई एचआईभीबारे सचेतना समेत प्रदान गरिएको छ । एएचएफ नेपाल गण्डकी संयोजक कोइरालाले प्रहरीलाई एचआईभी एड्स र यसबाट बच्ने उपायबारे सचेतना प्रदान गरेकी थिइन् । उनले विशेषगरी असुरक्षित यौन सम्पर्क र रगतको माध्यमबाट यो रोग सर्ने भएकाले असुरक्षित यौन सम्पर्क नगर्न, शरीरमा ट्याटु बनाउनेदेखि कपाल काट्ने ठाउँहरूमा समेत सचेत हुनुपर्ने बताइन् । कार्यशालामा सहभागीहरूले राखेका जिज्ञासा संयोजक कोइरालाले मेटाएकी थिइन् ।
एचआभीसम्बन्धी क्षेत्रमा कार्यरत कमल कार्कीले समाजमा अझैपनि एचआईभीलाई हाउगुजीको रुपमा लिने गरिएको बताउँदै नियमित औषधी सेवन गरेमा यसको प्रभाव कम गर्न सकिने र साधारण मानिसले जस्तै जीवन बाँच्न सक्ने बताइन् ।
सन् २००८ मा एएचएफ नेपालको स्थापना भएको हो । स्थापनाकाल देखिनै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र सँगको साझेदारीमा एचआइभी/एड्सविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा रहँदै आएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सन् २००९ को मे महिनामा सेवा सुरु गरेको एएचएफ नेपालले एन्टिरेट्रोभाइरल (एआरटी) उपचारको गुणस्तरीय सेवा प्रदान गर्न नेपाल सरकारसँग सहकार्य गर्ने पहिलो अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो ।
यो कार्यक्रम अहिले विभिन्न सरकारी अस्पतालहरूको एआरटी केन्द्रहरूबाट सञ्चालन हुँदै आएको छ, जसले एचआईभीसँग बाँचिरहेकाहरूलाई क्रिटिकल केयर र हेरचाह प्रदान गर्दछ। नेपालमा एचआईभी को महामारी उच्च जोखिममा रहेका जनसङ्ख्यामा केन्द्रित छ, र एएचएफ नेपालले जीवन बचाउने उपचार र सेवाहरूको पहुँच सुनिश्चित गर्दै यस चुनौतीलाई सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
एएचएफ नेपालले सञ्चालनमा ल्याएका एआरटि क्लिनीकमा नि:शुल्क एच.आई.भी. परिक्षण, निःशुल्क कण्डम, डाक्टरसंग जचाउन, यौन संक्रमणको परिक्षण, नियमित उपचारको लागि परामर्श, अवसरबादि संक्रमणको ब्यवस्थापन, क्षयरोग निदान तथा उपचार, एआरटि औषधि बितरण, पोजेटिभ प्रिभेन्सन -सेवाग्रहीलाई जानकारी निरन्तर चिकित्सकीय शिक्षा, निःशुल्क ब्रोसर, भाईरल भार परिक्षण, प्रेषण तथा लिन्केज, उपचार, हेरचार तथा सहयोग लगायतका सेवा उपलब्ध हुन्छ ।
एएचएफ नेपालले एचआईभी रोकथाम र उपचारसम्बन्धी परामर्श,यौन अभिमुखीकरण र लैङ्गिक पहिचान, साथै घृणा भेदभाव सम्बन्धि परामर्श, विस्तृत यौन शिक्षा लगायतका कार्य गर्ने गरेको छ ।
गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), दमौली अस्पताल, गोरखा जिल्ला अस्पताल, स्याङ्गजा जिल्ला अस्पताल,लमजुङ जिल्ला सामुदायिक अस्पताल,जिल्ला अस्पताल म्याग्दी, पर्वत जिल्ला अस्पताल,गरहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र (वालिङ) प्राथमिक स्वास्थ्य केन्द्र र चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा एआरटि क्लिनीक रहेका छन् ।
नेपालमा हाल ३० हजार भन्दा बढी एचआईभी एड्स सङ्क्रमित व्यक्तिहरू रहेका छन् । एएचएफ नेपालले सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धतामा सघाउनका लागि काम गर्दै आएको छ ।
