पोखरा । मुख्य पर्यटकीय सिजन सुरु भइसक्दा समेत पोखरामा पर्यटकको चहलपहल निकै न्यून देखिएको छ । कुनै समयमा पोखराका होटलको अकुपेन्सी ९० प्रतिशत सम्म पुग्ने गरेकोमा यसवर्ष मुख्य सिजनमा समेत मुस्किलले ३० प्रतिशतको हाराहारीमा अकुपेन्सी रहेको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
जेनजी आन्दोलनपछि देशमा उत्पन्न परिस्थितिका कारण सेप्टेम्बर महिनामा सबैभन्दा धेरै बुकिङ क्यान्सिल भएको र अक्टोबरका लागि केही बुकिङ रहेको बताए । अब पदयात्राको सिजन सुरु भएकाले बाह्य पर्यटकहरू आउने क्रम विस्तारै बढ्दै जाने अपेक्षा गरिएको छ । यसवर्ष पोखरामा दशैँको समयमा समेत आन्तरिक पर्यटकहरू अपेक्षित रुपमा आउन सकेनन् । आन्दोलन सँगै केही दिनअघि भएको वर्षाका कारण पोखरा आउने सडकमार्गका साथै हवाईमार्ग समेत प्रभावित बन्दा आन्तरिक एवं बाह्य पर्यटकको आवागमनमा असर परेको थियो । जेनजी आन्दोलनपछि ३५ प्रतिशत सम्म अकुपेन्सी पुगेकोमा चाडबाडको समयमा ८० प्रतिशत सम्म अकुपेन्सी पुर्याउने लक्ष्य राखिएको भएपनि देशको अवस्थाका कारण अकुपेन्सी घट्न पुगेको सुवेदीले बताए । अब विस्तारै मौसम अनुकुल बन्दै जादा यातायात समेत सहज बन्दै जाने विश्वास अध्यक्ष सुवेदीले व्यक्त गरे ।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते पोखरामा आधादर्जनभन्दा बढि ठूला होटलहरूमा आगजनी र तोडफोड भएको थियो । उक्त तोडफोड एवं आगजनीबाट साढे २ अर्बको हाराहारीमा क्षति भएको अध्यक्ष सुवेदीको भनाई छ । पोखराको पर्यटन क्षेत्रमा ८ अर्बभन्दा बढि लगानी रहेको र होटलमा मात्र ६ अर्बभन्दा बढि लगानी रहेको उनले उल्लेख गरे । क्षतिग्रस्त होटलको मर्मत तथा पुननिर्माण समेत सुरु भइसकेको उनको भनाई छ ।
कोभिडपछि विस्तारै लयमा फर्कन थालेको पोखराको पर्यटन क्षेत्र आन्दोलनपछि थप खुम्चन पुगेको छ । आन्दोलनका कारण व्यवसायीलाई परेको समस्यालाई सम्बोधन गर्नका लागि हाल सरकारले केही मात्रामा सहुलियतका प्याकेजहरू समेत ल्याएको छ ।
गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटकीय राजधानी पोखराले पोखरा महानगरकाे आयोजनामा यसवर्ष पोखरा भ्रमण वर्ष २०२५ समेत मनाइरहेको छ । पर्यटक आकर्षित गर्नका लागि होटल सङ्घ पोखरा नेपालमा आबद्ध होटलहरूले पर्यटकलाई २५ प्रतिशत छुट दिने निर्णय समेत गरेको छ । होटल सङ्घले बाढी पहिरोका कारण समस्यामा परेका पर्यटकहरूलाई निःशुल्क होटलमा खानेबस्ने व्यवस्था समेत गरेको छ । होटल सङ्घ पोखरा नेपालले पोखरा पूर्ण रुपमा सुरक्षित रहेको रहेको भन्दै निर्धक्कसाथ आउन पर्यटकहरूलाई आग्रह समेत गरेको छ । कुनैपनि हालतमा पर्यटकहरूलाई अलपत्र हुन नदिने प्रतिबद्धता समेत होटल व्यवसायीहरूले जनाएका छन् ।











