पोखरा । विश्व पर्यटन दिवसमा पोखरामा शनिबार हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा नेपालसहित ७ देशका खेलाडी सहभागी भएका छन् । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपालसहित ७ देशका खेलाडीले ६ वटा इभेन्टमा सहभागिताका लागि नाम दर्ता गराएको आयोजकले जनाएको छ ।
पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म ८ किमी दुरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुँदैछ । प्रतियोगितामा १ सय ६० भन्दा बढी धावकले नाम दर्ता गराएको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताए । उनका अनुसार प्रतियोगितामा नेपालसहित वेलायत, नर्वे, इजरायल, फ्रान्स, अमेरिका र स्पेनका धावकले नाम दर्ता गराएका छन् ।
नेपालको सन्दर्भमा मधेश प्रदेश बाहेक ६ वटा प्रदेशबाट महिला–पुरुषले ६ वटा विधामै नाम दर्ता गराएका छन् । सबै इभेन्टका विजयीलाई नगद पुरस्कार व्यवस्था गरिएको छ । खुलातर्फका विजेतालाई ५० हजार उपविजेतालाई ३० हजार तेस्रो हुनेलाई १५ हजार प्रदान गरिने भएको छ ।
सोही कार्यक्रममा विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र समाजसेवी अशोक गुरुङलाई सम्मान गरिने भएको छ । आयोजकले यस वर्षको प्रतिभा प्रोत्साहन सम्मानबाट तनहुँका विश्व कीर्तिमानी धावक घिमिरे र विश्वशान्ति स्तूप समिति अध्यक्ष समाजसेवी गुरुङलाई सम्मान गर्ने भएको केन्द्रका उपाध्यक्ष असफल गौतमले बताउनु भयो । गत वर्ष उद्योगी एवं समाजसेवी चन्द्रकान्त बराल र विश्व कीर्तिमानी धावक कुसान गुरुङ सम्मानित हुनु भएको थियो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रबर्द्धन तथा पोखरा महानगरपालिकाको सहकार्यमा हुने प्रतियोगितामा विभिन्न सङ्घसंस्थाले सहयोग गरेका छन् । प्रतियोगितामा करिब १६ लाख ९१ हजार रूपैयाँ खर्च हुने अनुमान रहेको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले बताए । असोज ११ गते शनिबार बिहान हुने प्रतियोगितामा धावकलाई स्थानीय आमा समूह र क्लबले फूलमाला र घडासहित स्वागत गर्ने तयारी गरिएको स्थानीय मिलन गुरुङले जानकारी दिए ।
