पोखरा। पोखराको सहारा क्लबले स्थापना गरेको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार केशव पाठक सम्मानित भएका छन्। सहारा क्लब पोखराको २७ औैं साधारण सभा तथा १४ ओै अधिवेशन अवसरमा शुक्रबार आयोजित समारोहमा उनलाई नगद २५ हजार ५५५ रुपैयाँ सहितको पत्रकारिता पुरस्कार अर्पण गरिएको हो । प्रमुख अतिथि हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीले उनलाई सो पुरस्कार हस्तान्तरण गरे ।
क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पाठकलाई सो पुरस्कार दिने निर्णय गरेको थियो । यसरी सम्मानित हुने पाठक १९ ओै पत्रकार हुन् । फुटबल मार्फत सामाजिक सेवामा क्रियाशील क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एक जना पत्रकारलाई योगदान आधारमा बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ ।
पर्वतका पाठक तीन दशकदेखि पोखराको खेलकुद पत्रकारितामा क्रियाशील छन्। उनी प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान बोर्ड सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष, गण्डकी प्रदेश ह्यान्डबल संघका अध्यक्ष हुन्।
क्लबले सहारा उत्कृष्ट सदस्य सम्मानबाट नेहा गुरुङलाई सम्मान गरेको छ । पोखरा–१५ निवासी गुरुङ जुनियर सदस्यका रुपमा १० वर्षअघि क्लबमा प्रवेश गरेकी थिइन्। नियमित रूपमा आहा रारा पोखरा गोल्डकप प्रतियोगिता गर्दै आएको क्लबले सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी सञ्चालन गरेको छ । क्लबमा हाल ३० जना बालकले फुटबल सिकिरहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
क्लब अध्यक्ष केशवराज बरालको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि केसी, प्रतिभा छनोट समितिका संयोजक कार्की, पुरस्कृत पत्रकार पाठक सहित सहारा क्लबका संस्थापक अध्यक्ष बसन्त थकाली, सल्लाहकार तेजबहादुर गुरुङ, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङ, महासचिव रामजी प्रसाद अधिकारी लगायतले बोलेका थिए । अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन हुनेछ ।











