पोखरा । नौलो घुम्ती नेपालको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले सबै सदस्यहरूले सेवाभाव राखेर संस्थामा योगदान दिन सके संस्थालाई बलियो बनाउन सकिने बताए । नौलो घुम्ती नेपालले सामाजिक कार्य गर्ने भएकाले सामाजिक भावनाका साथ लाग्न सकेमात्र संस्थाले गति लिन सक्ने बताए ।
पोखरा महानगरपालिका वडा नं. १७ की वडाअध्यक्ष राधिका शाही योगीले नौलो घुम्ती नेपालले लागुऔषधसम्बन्धी परामर्श, उपचार तथा पुनर्स्थापना, एचआईभी रोकथाम हेरचाह सहयोग तथा उपचार सेवासँगै समुदायमा आधारित झोलुङ्गे पुल निर्माणमा समेत विशेष योगदान दिदैँ आएको कुरा प्रशंसा योग्य रहेको बताइन् । उनले लागू औषध दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई समाजमा पुनर्स्थापना गर्नका लागि उत्पादन, रोजगारी, शिक्षा र आर्थिक सबलीकरणमा समेत नौलो घुम्तीको महत्वपूर्ण योगदान रहेको बताइन् ।
अध्यक्ष योगीले जेनजी आन्दोलनपछि समाजसेवा गर्ने व्यक्तिहरूमा समेत त्रास सिर्जना भएको बताइन् । राम्रा कामको प्रशंसा र नराम्रा कामको खबरदारी गर्नुपर्नेमा त्यसो नगरी सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड आगजनीसँगै साङ्घातिक हमला गर्नेजस्ता अराजक हर्कतले राम्रा काम गर्न खोज्नेहरू समेत त्रसित बन्न पुगेको उल्लेख गरिन् ।
नौलो घुम्ती नेपालका अध्यक्ष सुरेन्द्र थापा मगरले नौलो घुम्ती नेपाल केवल उपचार केन्द्रमात्र नभई लागू औषधको प्रयोगबाट बाटो विराएकाहरूलाई मार्गदर्शन दिने र पुनर्जीवन दिने संस्थाको रुपमा रहेको बताए । उनका अनुसार हाल संस्थाले देशका २३ जिल्लामा लागूऔषध परामर्श, उपचार तथा पुनर्स्थापना, एचआईभी रोकथाम हेरचाह सहयोग तथा उपचार सेवा कार्यक्रम एकीकृत सामुदायिक विकास परियोजना, समुदायमा आधारित झोलुङ्गे पुल निर्माण कार्यक्रम गर्दै आएको बताए ।
लागूपदार्थ परामर्श उपचार तथा पुनर्स्थापना केन्द्रमा गत वर्ष सम्म २ हजार ९ सय १४ जना पुरुष र ७ सय ९८ महिला सहित ३ हजार ७ सय १२ जनाले आवासीय सेवा प्राप्त गरिसकेको अध्यक्ष थापा मगरको भनाई छ । यो आर्थिक वर्षमा महिला तर्फ ७३ जना र पुरुष तर्फ १३६ जना गरि २०९ जनाले आवासीय सेवा प्राप्त गरेका छन् । कार्यक्रममा महासचिव कमल प्रसाद अर्यालले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष कमला पौडेलले कोषाध्यक्षको प्रतिवेदन, पत्रकार दीपेन्द्र श्रेष्ठले सामाजिक लेखाजोखा परिक्षण प्रस्तुत गरेका थिए ।
महासचिव कमल प्रसाद अर्यालले सञ्चालन गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की अध्यक्ष उर्मिला खड्का, सहारा क्लबका अध्यक्ष केशवराज बराल, आजीवन सदस्य टोपराज ढुङ्गाना, पूर्व अध्यक्ष तथा सल्लाहकार इन्दिरा बराल, वरिष्ठ उपाध्यक्ष मङ्गल बहादुर नेपाली, आजीवन सदस्य शिवराम भण्डारी लगायतले बोलेका थिए । सन् १९९५ देखि परियोजनाको रुपमा परिचित नौलो घुम्ती नेपाल सन् २००२ मा आएर स्वतन्त्र गैरसरकारी संस्थाको रुपमा स्थापीत बनेको हो। संस्थाले सामुदायिक झोलुङ्गेपुल कार्यक्रमको थालनी भने वि.सं. २०४५ बाट सुरु गरेको थियो । हालसम्म ७३ झोलुङ्गे पुल निर्माण गरिसकेको जनाईएको छ ।
