पोखरा । पोखरा महानगरपालिका वडा नं १५ ले असोज ९ गते बिहीबारबाट सम्पूर्ण सेवा सुचारु गर्ने भएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा वडा कार्यालयमा भएको आगजनी तथा तोडफोडका कारण केही दिनदेखि अत्यावश्यक बाहेकका अन्य सेवाहरू नियमित रूपमा प्रवाह हुन सकेको थिएन । बिहीबारबाट भने वडा कार्यालयका सम्पूर्ण सेवाहरू नियमित रूपमा सुचारु हुने वडाध्यक्ष तोरण बहादुर बानियाँले जानकारी दिए । 

विभिन्न सङ्घ संस्था तथा वडावासीको सहयोगका कारण आगजनी र तोडफोड भएको भवनको पहिलो तल्लालाई मर्मत र रङ्गरोगन गरेर तयार पारिएको हो । कार्यालयको लागि तत्काल आवश्यक पर्ने सामाग्री समेत वडामा रहेका सङ्घ संस्थाको साथका कारण व्यवस्थापन गर्न सम्भव भएको उनले खुलाएका छन् ।

सेवा अवरुद्ध हुँदाको समयमा सेवाग्राहीको धैर्यता र सहयोगको लागि वडाले धन्यवाद ज्ञापन समेत गरेको छ । राजश्व सङ्कलन सम्बन्धी सफ्‌टवेयरमा हाल देशव्यापी रुपमा समस्या रही मर्मत कार्य भइरहेको कारणले गर्दा मालपोत तथा सम्पत्ति कर सङ्कलन कार्य हाल सुचारु हुन नसकेको वडा सचिव युवराज पौडेलले खुलाएका छन् । मर्मत कार्य सम्पन्न हुने बित्तिकै मालपोत तथा सम्पत्ति कर सङ्कलन कार्य पुनः सुरु हुने उनले प्रष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0