पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले आगजनीबाट मुख्य कार्यालय भवन प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेपछि चमेनागृहबाट सेवा प्रवाह गर्न थालेको छ । गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड हुँदा मुख्य कार्यालय भवन प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेपछि चमेनागृहबाटै सेवा प्रवाह गर्न थालिएको कार्यालय प्रमुख शिव प्रसाद ढुङ्गानाले जानकारी दिए ।
उनका अनुसार भवन डिभिजन कार्यालयबाट आएको प्राविधिक टोलीले प्रारम्भिक अध्ययनपश्चात पहेँलो स्टिकर टाँसेको छ । कुनैपनि भवनमा पहेँलो स्टिकर टाँस्नुको अर्थ भवनमा प्रवेश गर्न जोखिमपूर्ण हुने र मध्यम क्षति पुगेको भन्ने बुझिन्छ । आगजनीबाट करदाताको एकलाखभन्दा बढि फाइल जलेर खरानी भएका छन् । तर, तीमध्ये धेरैजसो फाइलहरू अनलाइनमा आधारित रहेकाले रिकभर भएको प्रमुख ढुङ्गानाले बताए । गत बिहिबारदेखि सेवा सुरु गरेको आन्तरिक राजस्व कार्यालयमा हाल दैनिक एक सय पचास हाराहारीका सेवाग्राहीले सेवा लिने गरेको उनले बताए ।
भदौ २४ को आगजनीबाट कार्यालय भवनसँगै २ वटा गाडी, ८ वटा मोटरसाइकल, ४५ सेट कम्प्युटरसित फर्निचरहरू समेत जलेर नष्ट भएको ढुङ्गानाको भनाई छ । जसकाकारण विगतका दिनहरूमा जस्तो फिल्डमै पुगेर अनुगमन भने गर्न सकेको छैन । यस्तै आन्तरिक राजस्व कार्यालयमै रहेको बैङ्क काउन्टर समेत आगजनीका कारण क्षतिग्रस्त बनेकोले सञ्चालनमा आएको छैन । ढुङ्गानाले सकेसम्म अनलाइनबाटै राजस्व तिर्नेदेखि टीडीएस सम्बन्धी काम गर्न ग्राहकलाई आग्रह गरेका छन् ।
हाल अस्थायी रुपमा सेवा सुरु गरेको जनाउँदै अब स्थायी रुपमा कसरी सेवा अगाडि बढाउने सन्दर्भमा भने विज्ञ टोलीको अध्ययनको निष्कर्षपछि मात्र टुङ्गो लाग्ने बताए । सवारी साधन खरिदबारे भने मन्त्रालय तथा विभागसँग समन्वय भइरहेको जनाईएको छ ।
