पोखरा । पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिको ४१ औं बैठक सम्पन्न भएको छ । बैठकले जवाफदेहीता, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलताको एजेन्डा सहित उर्जा र उत्साहपूर्वक शुरु भएको जेनजी आन्दोलनमा मृत्युवरण हुन पुगेका युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको लेखा समिति संयोजक झपट रानाभाटले जानकारी दिए । दलहरूभित्रको आन्तरिक एकता सुदृढ हुन नसक्दा देशीविदेशी प्रतिक्रियावादी तत्त्वहरूको ग्राण्ड डिजाइनमा नेपालको राष्ट्रिय स्वाभिमान, अखण्डता र राष्ट्रियता माथि दिनदिनै खतरा बढेको विषयमा लेखा समितिका सदस्यहरू रामजी पौडेल, विष्णुमणि बराल, बलराम पौडेल र दुर्गा थापाले आफ्ना भनाइहरू व्यक्त गरेको रानाभाटले खुलाए ।
बैठकले सिंहदरबार,पोखरा लगायत मुलुकका सबै सार्वजनिक सम्पत्ति, निजी र ऐतिहासिक भवनमाथि मानवीय सभ्यताको बर्बर उल्टो, सामान्य मानवीयता समेत गुमाएर आततायी र आतङ्ककारी र अवान्छित ढङ्गले घुसपैठ सहित गरिएको आगजनी ,तोडफोड र तहसनहस तुल्याई देशको अरबौँ क्षति पुर्याउने घटना प्रति खेद प्रकट गर्दै आगजनी, तोडफोड र चोरीमा संलग्न राजनीतिक आग्रह, पूर्वाग्रह, रिस, द्वेष, ईर्ष्याले लैस पपेट जस्तै आपराधिक मानसिकताले ग्रस्तहरूको छानबिन गरी दोषीलाई तथ्य र कारणका आधारमा हदैसम्मको कारबाही गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।
पोखरा महानगरपालिकाको मुख्य कार्यालय सहित क्षतिग्रस्त सेवा र खर्च केन्द्रहरू मितव्ययी र पारदर्शी ढङ्गले सकेसम्म मर्मत सम्भार गरी सेवा सुचारु गर्न,अभिलेखहरू र क्षतिग्रस्त निजी र कार्यालयका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको उपयुक्त र सङ्ग्रहणीय व्यवस्थापन गरी आगामी पुस्ताको पाठशालाको रूपमा राख्न सुझाव दिएको छ। कार्यालयका साधन सहित कार्यालयमा रहेका सामाग्रीहरूको चुस्तदुरुस्त र भरपर्दो रेकर्ड पुनः तयार गर्न महानगर प्रशासनलाई सुझाएको संयोजक रानाभाटको भनाइ छ ।
कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कार्यालयीय सामाग्री तथा साधनहरू आवश्यकता, औचित्यता र महानगरको प्रतिकुल आर्थिक अवस्थालाई ख्याल गरी मात्र खरिद गर्न प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह गरेको छ। त्यस्तै ठूल्ठूला धार्मिक सांस्कृतिक पर्वहरू ज्यादै सम्मुखमा भएको हुनाले अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरणमा सहज तुल्याउन महानगरलाई सुझाएको छ।
पोखरा महानगरपालिकामा भाद्र २३ र २४ गते सङ्कलन भएको शीर्षकगत राजस्व र त्यसको बैकिङ्ग एवं सार्वजनिक लेखा समितिका अघिल्ला बैठकले गरेका सुझाव र निर्णयहरूको कार्यान्वयनको बारेमा समेत सार्वजनिक लेखा समितिको बैठकले प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालसँग चासो व्यक्त गरेको छ। बैठकको अध्यक्षता संयोजक झपट रानाभाट र सञ्चालन बरिष्ठ आलेप अधिकृत रोमनाथ उपाध्यायले गरेका थिए ।











