पोखरा । जेन जी आन्दोलनका क्रममा विभिन्न जिल्लामा भएको क्षतिका बारेमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीले स्थलगत अवलोकन गरेको छ । गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष मीन प्रसाद गुरुङ नेतृत्वको टोलीले नवलपुर, तनहुँ, कास्की, पर्वत, बागलुङ र म्याग्दी लगायतका जिल्लाको अवलोकन गरेको हो ।
सबै जिल्लाको अवलोकन गर्ने, पार्टीको पछिल्लो अवस्थाका बारेमा बुझ्नुका साथै नेता कार्यकर्ताहरूसँग छलफल गर्ने, धैर्य रही पार्टी काममा थप सक्रिय भएर अगाडि बढ्नका लागि प्रेरित गर्ने उद्देश्यले प्रदेशको टोलीले अवलोकन गरी क्षति विवरण लिइएको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए ।
क्षतिको अवस्था हेर्दा सबै भन्दा बढी नवलपुर जिल्लामा देखिएको छ, त्यहाँको पार्टी जिल्ला कार्यालय पूर्ण रुपमा ध्वस्त छ, पालिका कार्यालयहरू समेतमा क्षति भएको छ, सचिव दवाडीले भने,–‘पार्टीका नेताहरूको घर समेत छानी छानी तोडफोड र आगजनी गरिएको छ ।’
नवलपुर, कास्की र पर्वतमा नेताहरूका घरमा समेत तोडफोड र आगजनी गरिएको छ । अन्य जिल्लामा पार्टी कार्यालयमा तोडफोड र सामान बाहिर लगेर आगजनी गरिएको अवलोकनका क्रममा पाइएको सचिव दवाडीले जानकारी दिए ।
नवलपुरमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तिलक महत, जिल्ला अध्यक्ष जीवन श्रेष्ठ र गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठ, गण्डकी प्रदेशका पूर्वमन्त्री रोशन गाहा मगर लगायतका नेताहरूको घरमा तोडफोड र आगजनी भएको छ । जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको सुन पसल, पार्टीका जिल्ला उपसचिव षडानन्द लामिछानेका २ वटा मोटर साइकलमा क्षति पुगेको छ ।
देवचुली नगरपालिकाका मेयर हरि प्रसाद न्यौपाने, उपमेयर पार्वता तिवारी, कावासोती नगरपालिकाका मेयर विष्णु भुसाल, उपमेयर पुल कुमारी महतो, मध्यबिन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारी, उपमेयर पूर्णकला महतो, पार्टी जिल्ला कमिटी सदस्य सागर न्यौपाने लगायतका घरमा तोडफोड र आगजनी भएको छ ।
जेन जी आन्दोलनका क्रममा एमाले गण्डकी प्रदेश कार्यालय भित्र बाहिर क्षति भएको छ । यस्तै कास्की, पर्वत, बागलुङ, म्याग्दी र तनहुँमा जिल्ला कार्यालय तोडफोड र सामग्रीहरू बाहिर लगेर आगजनी गरिएको छ ।
कास्कीमा नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी, निवर्तमान सङ्घीय सांसद मन बहादुर गुरुङ, प्रदेश सांसद वेद बहादुर गुरुङ, केन्द्रीय सदस्य राजिव पहारी, पर्वतमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पदम गिरी लगायतका घरमा आगजनी गरिएको छ ।
केन्द्रीय अनुशासन आयोगका सचिव भरत पहारी, गण्डकी प्रदेशका सांसद गणेशमान गुरुङ, देवका पहारी तथा व्यवसायी बासुदेव त्रिपाठीका होटलमा क्षति भएको छ । पार्टी कार्यालयको अवलोकनसँगै प्रदेश अन्तरगतका जिल्लाहरूमा भएको क्षतिका बारेमा समेत सम्बन्धितहरूसंग छलफल गरी क्षतिको विवरण लिइएको सचिव दवाडीले बताए ।
प्रदेश कमिटीको टोलीमा कार्यवाहक अध्यक्ष गुरुङ, सचिव दवाडी सहित प्रदेश कमिटी सदस्यहरु राजु पौडेल र चिरञ्जिवी पोखेरेलको सहभागिता रहेको थियो ।
