पोखरा । पोखरा महानगरपालिका वडा नं १७ को कार्यालयमा सोमबार वडा भेला सम्पन्न भएको छ । जेन जी आन्दोलनका कारण वडा कार्यालयमा पुगेको क्षतिबारे स्थानीयलाई जानकारी दिनुका साथै सहकार्य र सहयोगको अपेक्षासहित वडा भेला गरिएको हो । भेलामा जनप्रतिनिधि र कर्मचारीसहित वडाभित्रका टोलविकास संस्था, आमा तथा महिला समुह, विभिन्न सामाजिक सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा बोल्दै वडाअध्यक्ष राधिका शाही योगीले जेनजीको नाममा उच्छृङ्खल समुहले आन्दोलनको मौका छोपेर वडाको महत्वपूर्ण कागजात नष्ट गर्ने र वडाकार्यालयमा आगजनी र तोडफोड गर्ने काम गरेको बताइन् । हस्तान्तरणसमेत हुन नपाईकन नवनिर्मित वडाकार्यालय भवनमा आगजनी र तोडफोड गरेको घटनाप्रति खेद प्रकट गरिन् । वडाले बागलुङ, पर्वत, म्याग्दी लगायत गण्डकी प्रदेशका जिल्लामा स्थायी घर भई पोखरामा बसोबास गरिरहेका ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा दिदैँ आएकोमा अब त्यो सेवा सुरु गर्न नसकिने उल्लेख गरिन् । वडामा भएको तोडफोड र आगजनीबाट सेवाग्राहीलाई अत्यावश्यक हुने सेवा समेत दिन नसक्दा आफूलाई दुखित महशुस गराएको बताउँदै असोज १ गतेबाट सम्भव भएसम्मका सेवाहरू पुनः सुचारु गर्न लागिएको जानकारी गराइन् ।
अध्यक्ष शाहीले क्षतिग्रस्त भवनको सरसफाइ वडाका जनप्रतिनिधि र कर्मचारी स्वयंले गर्ने बताउँदै कार्यालय सञ्चालनका लागि आवश्यक सामाग्रीहरू भने व्यक्तिगत वा संस्थागत रुपमा सहयोग गर्न सक्ने बताइन् ।
वडा सदस्य बिक्रम गुरुङले आन्दोलनको मौका छोपेर आगजनी र तोडफोड गर्नेहरूको फोटो वा भिडियोहरू भएका वडालाई उपलब्ध गराइदिन स्थानीयलाई आग्रह गरे । अराजक गतिविधि गर्नेहरूलाई सार्वजनिक नगर्ने हो भने थप अराजक बन्न प्रसय पाउने बताउँदै सामाजिक रुपमा गल्ती महसुस गराउनका लागि पनि कारबाही गर्नुपर्ने गुरुङको भनाई छ । उनले कसैले वडाको सामाग्रीहरू लगेको भएपनि इमान्दारितापूर्वक फिर्ता गर्न आग्रह गरेका छन् ।
वडा सचिव सुरेन्द्र शर्माका अनुसार वडा कार्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ भने अन्य सामाग्रीहरू पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । वडामा २० वटा कम्प्युटर सेट रहेकोमा २० वटै काम नलाग्नेगरी तोडफोड र आगजनी भएको र केही सेट कम्प्युटर हराएको बताए । यस्तै प्रिन्टर १८ वटा रहेकोमा १६ वटा प्रिन्टर काम नलाग्ने अवस्थामा पुगेको, २० वटा टेबल, १० वटा कुर्सी, १० वटा सोफा सिटहरु नष्ट भएको सचिव शर्माले उल्लेख गरे । यसबाहेक मंगलबार मात्रै झारेको घुम्ने कुर्सीहरु समेत आगजनी र तोडफोड भएका छन् । यसबाहेक ३ वटा दराज, ५ सेट पर्दा, ४ वटा सिसिक्यामेरा र २ वटा वाटर डिस्पेन्सर पूर्ण रुपमा क्षति भएको सचिव शर्माले उल्लेख गरेका छन् । वडाको भूमि सम्बन्धी कागजात, घरनक्सा दरखास्त फारामहरु नभेटिएको जनाउँदै ती कागजातहरु जलाईएको वा चोरिएको हुन सक्ने आशंका समेत व्यक्त गरेका छन् ।
पोखरा १७ को वडा कार्यालय भवन पनि हालसालै निर्माण गरिएको हो । यसअघि पोखरा विरौटामा वडा कार्यालय रहेकोमा केही हप्ताअगाडीमात्रै ड्यामसाईडस्थित नवनिर्मित भवनबाट सेवा सुरु गरिएको थियो । उक्त भवन वडालाई हस्तान्तरण हुन नपाउँदै आन्दोलनकारीहरूले आगजनी गरेका हुन् ।
