पोखरा । नेकपा एमाले कास्की जिल्ला कमिटी अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीले अब पार्टीभित्र कुनैपनि बहानामा गुट उपगुट नरहने बताएका छन् । जेन जी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको पार्टी कार्यालयमा सरसफाइ गर्न सोमबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
आज नै जिल्ला कमिटीको विस्तारित भेला समेत सम्पन्न भएको छ । भेलाले कुनैपनि बहानामा पार्टीभित्र गुट उपगुट नरहने र सङ्गठनलाई बलियो बनाएर लैजाने सर्वसम्मत निर्णय गरेको अध्यक्ष अधिकारीले जानकारी दिए । पार्टीको साङ्गठनिक जीवनलाई व्यवस्थित गरेर लैजान खोजिरहेको बताउँदै अध्यक्ष अधिकारीले अब पालिका, वडा र टोलमा पार्टीको बैठक बस्ने जानकारी दिए ।
अध्यक्ष अधिकारीले आन्दोलनकारीहरूले देशका महत्वपूर्ण सरकारी कार्यालयदेखि पार्टी र नेताको घरमा समेत आगजनी र तोडफोड भएको बताउँदै ती संरचनाहरूको सरसफाइमा समेत निरन्तरता दिइने बताए । जेनजी आन्दोलनले उग्ररूप लिँदा एमाले कास्कीको पार्टी कार्यालयमा ठूलो क्षति भएको अधिकारीले बताए । उनले आन्दोलनमा भएको क्षति प्रति दुःख व्यक्त गर्दै अव आन्दोलनमा भएको क्षतिलाई कसरी समायोजन गर्न सकिन्छ र पार्टीलाई आउने दिनमा कसरी व्यवस्थित भन्ने विषयमा पार्टीले योजना बनाएको बताएका छन् ।
जेनजी आन्दोलनपछि बसेको पहिलो विस्तारित बैठकमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूसहित पार्टीका विभिन्न कमिटीमा आवद्ध नेता सहित कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव दर्शन लामाले गरेका थिए ।
