पोखरा । ‘हामी बनाउछौँ हाम्रो देश’ भन्ने मूल नाराका साथ लायन्स क्लब अफ इन्फरमेसन टेक्नोलोजीले आन्दोलनको क्रममा आगलागीबाट क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीमा सिसिटिभी क्यामेरा जडान गरेको छ ।
गत भदौ २४ गतेको जेनजीको आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीमा जडान गरिएका सम्पूर्ण सिसिटिभी क्यामेराहरू आगलागीका कारण पूर्ण रुपमा जलेर नष्ट भएपछि लायन्स क्लब अफ इन्फरमेसन टेक्नोलोजीले प्रहरीको काम कारबाहीमा सहयोग पुगोस् भन्ने उद्देश्य अनुरूप शनिवार सिसिटिभी क्यामेरा मर्मत सँगै नयाँ सिसिटिभी जडान गरेको लायन्स क्लब अफ इन्फरमेसन टेक्नोलोजीका अध्यक्ष रावत गोम्जा तामाङले बताए ।
गोम्जाका अनुसार जिल्ला प्रहरी कार्यालय हामी सबैको लागि सुरक्षा प्रदान गर्ने स्थान भएकाले आन्दोलनको क्रममा आगलागीबाट क्षति भएको सिसिटिभी क्यामराहरूले काम नगर्ने भएकाले आफूहरूले मर्मत र नयाँ सिसिटिभी क्यामेरा जडान गरेको बताए ।
सिसिटिभी जडान कार्यक्रमका संयोजक स्वयम्भु कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालयमा १६ थान सिसिटिभी क्यामेरा जडान गरिएको छ । जस मध्ये ९ वटा सिसिटिभी क्यामेरा नयाँ जडान गरिएको हो । शनिवार जडान सम्पन्न गरी हस्तान्तरण गरिएको उक्त क्यामेराहरूको मर्मत सम्भार समेत लायन्स क्लब अफ इन्फरमेसन टेक्नोलोजीले नै गरिदिने र आगामी दिनमा पनि थप सहयोगलाई निरन्तरता दिने समेत कुँवरले जानकारी दिए ।
यस अघि पार्दी माविमा समेत लायन्स क्लब अफ इन्फरमेसन टेक्नोलोजीले सिसिटिभी क्यामेरा जडान गरेको बताउँदै आफूहरूले पोखरा ८ का केही सामुदायिक विद्यालयहरूमा सिसिटिभी क्यामेरा जडान गर्ने योजनाका साथ अगाडि बढिरँहदा जेनजीको आन्दोलनका कारण आगलागीबाट क्षति पुगेको जिल्ला प्रहरी कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको अध्यक्ष गोम्जाले जानकारी दिए ।











