काठमाडौँ । नेकपा एमालेका विभिन्न केन्द्रीय विभागहरूले हालको राजनीतिक अन्योल अन्त्य गर्न संविधानको परिधिभित्र रही तत्काल राष्ट्रिय सरकार गठन गर्न माग गरेका छन्।

विभागीय सचिवहरूको भर्चुअल बैठकपछि शुक्रबार जारी अपिलमा “यथाशीघ्र निकासका लागि शीतल निवासबाट सम्माननीय राष्ट्रपतिज्यूले सबै कामको अग्रसरता र नेतृत्व गर्न विशेष अनुरोध गर्दछौँ” भनेर उल्लेख गरिएको छ।

अपिलमा जेन–जि आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न आग्रह गरिएको छ। आन्दोलनमा अराजक तत्त्वको संलग्नताले सार्वजनिक, निजी सम्पत्तिमा भएको क्षति र नेताहरूको घरमा भएको आक्रमणबारे तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको छ।

पार्टी कार्यकर्तालाई धम्क्याउने, राजीनामा गर्न बाध्य पार्ने कार्यलाई निन्दनीय बताउँदै यस्ता गतिविधि रोक्न स्थानीय समुदाय र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको अपिलमा भनिएको छ। त्यस्तै, कालोबजारी र मूल्यवृद्धि नियन्त्रणका लागि सरकारलाई कदम चाल्न आग्रह गरिएको छ।

अपिलमा भनिएको छ, “एमाले जेन–जि पुस्ताको चाहना अनुसारको पार्टी बन्ने र मुलुकका समस्या समाधानमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्दछ।”

अपिलको पूर्ण पाठ नेकपा एमाले केन्द्रीय विभागहरूको तर्फबाट सार्वजनिक अपिल २०८२ भाद्र २७ गते यही भाद्र २३-२४ गते मुलुकमा उत्पन्न असामान्य परिस्थिति र विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे हाम्रो पार्टी नेकपा एमालेको सचिवालयले स्पष्ट धारणा सार्वजनिक गरिसकेकै छ। यस विषम परिवेशलाई मध्यनजर गर्दै नेकपा एमालेका बिभिन्न केन्द्रीय विभागका सचिवहरूको भर्चुअल बैठकमा छलफल भए बमोजिम सबै विभागको तर्फबाट ६ बुँदे अपिल जारी गरिएको छ ।

अपिलमा समावेश बुँदाहरु

१) जेन जि (Gen Z) आन्दोलनका क्रममा ज्यान गुमाउनु हुनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ र आन्दोलनका क्रममा घाइते भएकाहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै निशुल्क स्वास्थ्य उपचारको ब्यवस्था होस् भन्ने माग गर्दछौँ।

२) जेन जि युवाहरूको भावना अनुसार वर्तमान संविधानको मर्म र परिधिभित्र रहेर तत्काल राष्ट्रिय सरकार गठन गरी वर्तमान राजनैतिक अन्यौलताको अन्त्य गरियोस। यथाशीघ्र निकासका लागि शीतल निवासबाट सम्माननीय राष्ट्रपतिज्यूले सबै कामको अग्रसरता र नेतृत्वको लागि विशेष अनुरोध गर्दछौँ।

३) आन्दोलनका क्रममा अराजक भिडले सरकारी तथा सार्वजनिक एवं निजी घर सम्पत्तिमा तोडफोड र आगजनिका कारण मुलुकमा अपुरणीय क्षति पुगेको छ। आन्दोलनमा भएको गलत तत्त्वको घुसपैठले राज्यविहीनताको स्थितिमा पुर्‍याएको छ। प्रमुख राजनीतिक दलका नेता तथा कार्यकर्ताको घर बासस्थान खोजी खोजी जलाउने र धम्क्याउने काम भएका छन । यो सबै घटना को सत्य तथ्य छानबिन गर्न तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरी सोको प्रतिबेदन अनुसार दोषीलाई कडा कारबाहीको लागि अनुरोध गर्दछौँ।

४) नेकपा एमालेका कार्यकर्तालाई घर घर मा पुगी धम्क्याउने र पदबाट राजिनामा गर्न बाध्य बनाउने जस्ता कार्यहरू निन्दनिय छन्। सबै टोल टोलमा अवान्छित क्रियाकलाप रोक्न स्थानीय समुदाय र सुरक्षा निकायको सहकार्यको वातावरण मिलाउन हामी सम्पुर्ण देशभक्त नेपालि दाजुभाई दिदी बहिनीहरूमा अनुरोध गर्न चाहन्छौ ।

५) वर्तमान परिस्थितिको फाइदा उठाउदै बजार मुल्य बृद्दि गरी कालोबजारी गर्ने तथा चोरि गर्ने समेत प्रवृति बढेको हुदा कालोबजारी रोक्न र बजारलाई सहज बनाउन हामी सबैलाई अपिल गर्दछौँ

६) एमालेलाई हालको जेन जी युवा पुस्ताको चाहना बमोजिमको पार्टी बनाउदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध छौ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0