पोखरा । नेकपा एमाले कास्कीले संविधानको भावनाविपरीतका कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ । साथै, राज्यको सर्वोच्च निकाय राष्ट्रपतिमार्फत जनताको सार्वभौम निकाय व्यवस्थापिका संसदबाटै यसको निकास निकाल्न माग गरेको छ ।
एमाले कास्कीका तर्फबाट जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो कुरा जनाएका हुन् । यसैगरी स्वाधीन सार्वभौमसम्पन्न लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं यस व्यवस्थालाई अझै उन्नत बनाउने मार्गमा लामबद्ध हुन सम्पूर्ण लोकतन्त्र पक्षधर दलहरु साथै नागरिक समाजमा अनुरोध गरिएको छ ।
जेनजीको आन्दोलनका क्रममा पोखरामा संघ, प्रदेश र जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरु, एमाले गण्डकी प्रदेश कार्यालय, जिल्ला कार्यालय, वडा पार्टी कार्यालय, राजनीतिक व्यक्तित्हरुको निजी आवास, उद्योगी व्यवसायीका व्यापारिक प्रतिष्ठानहरुमा भएको तोडफोड, लुटपाट र आगजनीको घोर भत्र्सना गरिएको छ ।
त्यसमा संलग्नलाई आवश्यक छानबिन गरी कारबाही प्रक्रियामा ल्याउन र क्षतिग्रस्त निजी सम्पत्तिको न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन राज्यसमक्ष जोडदार माग गरिएको छ ।












