पोखरा ।जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म १९ जना पुगेको छ । काठमाण्डौको बानेश्वर क्षेत्रमा र सुनसरीमा समेत गरी उनीहरूकाे ज्यान गएको हो । प्रहरीले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन । अस्पतालहरूको विवरण अनुसार ज्यान गुमाउनेको संख्या १९ जना पुगेको हो ।
अस्पतालहरूको विवरण अनुसार काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जनाको ज्यान गएको छ । यस्तै एभरेस्ट अस्पताल बानेश्वरमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको ज्यान गएको हो । यस्तै इटहरीकाे सुनसरीमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएकाे हाे ।
अस्पतालहरूको विवरण अनुसार विभिन्न अस्पतालमा गरी ३ सय ४७ जना घाइतेको उपचार भइरहेको छ । प्रहरीले गोली चलाउँदा पोखरामा एक जना घाइते भएका छन् ।
यता जेनजी पुस्ताले गरेको प्रदर्शन चर्किदै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा निषेधाज्ञा जारी गरेको छ । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धसँगै भ्रष्टाचारको विरुद्धमा सोमबार पोखरामा जेनजी पुस्ताले गरेको प्रदर्शनले उग्र रूप लिएपछि प्रदर्शन हुन सक्ने सहिदचोक आसपासका क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको आदेशमा पूर्व तर्फ वाई चोक, पश्चिम तर्फ फिस्टेल गेट (वैदाम), उत्तर तर्फ मालपोत कार्यालय, कास्की र दक्षिण तर्फ राष्ट्रबैङ्क चोकमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा आजदेखि अर्को आदेश जारी नभएसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको उल्लेख छ ।
प्रशासनको आदेश उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने आदेशमा उल्लेख छ ।
पोखरासहित देशैभर आज सन् १९९७ देखि २०१२ सम्म जन्मिएका (जेनजी) पुस्ताले प्रदर्शन गरिरहेका छन् । पोखरामा पनि सभागृहबाट सुरु भएको प्रदर्शन, न्युरोड, महानगरपालिका, चिप्लेढुङ्गा, सिद्धार्थचोक, सिर्जनाचोक हुँदै जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री कार्यालयसम्म पुगेको थियो । गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ गर्दै प्रदर्शन गर्नेक्रममा प्रहरीले गोली चलाएको थियो । त्यसपछि स्थिति असामान्य बन्दै गएपछि प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।













