पोखरा। पोखरामा माध्यमिक तहका विद्यार्थीबीचमा चित्रकला प्रतियोगिता हुने भएको छ । स्टार्स स्टुडियो प्रालिको आठौँ वार्षिकोत्सव तथा स्टार्स फाउन्डेसन नेपालको छैटौँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना हुन लागेको अध्यक्ष जसमाया गुरुङ जसुले कोटखबरलाई जानकारी दिइन् ।
माध्यमिक विद्यालय स्तरीय ‘स्टार्स चित्र प्रतियोगिता २०८१’ मा एउटा विद्यालयबाट एकजना विद्यार्थी मात्र सहभागी बन्न पाउनेछन् । वाटर कलर, क्रेन, पेन्सिल, पेस्टल, एक्रेलिक लगायत जुनसुकै माध्यमबाट चित्र बनाउन पाइनेछ । तर, चित्र ‘हाम्रो संस्कृति’ शीर्षक को भाव अनुसार तयार पार्नुपर्छ ।चित्र बनाउन कागज आयोजकले व्यवस्था गर्नेछ भने अन्य सामाग्री सहभागी आफैले ल्याउनुपर्नेछ । मौलिक चित्रले प्राथमिकता पाउनेछन् ।
प्रतियोगिता प्रथम हुने प्रतियोगीलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार, सान्त्वना हुनेलाई दुई जनालाई जनही २ हजार ५ सय रुपैयाँ सहित पुरस्कृत गरिने अध्यक्ष गुरुङले खुलाइन् ।
प्रतियोगिता भाद्र २८ गते बिहान ११ बजेबाट पोखरा १ पुरानो टुडिखेलमा रहेको अञ्जुली बोडिङ स्कुलमा हुनेछ । सहभागी हुन इच्छुकले भाद्र २४ गतेसम्म आयोजकसँग सम्पर्क गरि नाम दर्ता गराउनुपर्नेछ । दर्ता शुल्क १ सय रुपैयाँ लाग्नेछ ।
आयोजक संस्था स्टार्स स्टुडियो नेपाल नेपाली मौलिक लोक संस्कृति र सांस्कृतिक नृत्यहरूको संरक्षण र प्रवर्द्धनका लागि क्रियाशील छ । यसको कार्यालय न्युरोड पोखरामा रहेको छ । लोक नृत्यको प्रशिक्षणका साथै विभिन्न जातजातिको मौलिक वेषभूषाको संरक्षण, फिल्म निर्माण, इभेन्ट मेनेजमेन्ट लगायतको क्षेत्रमा यसले काम गरिरहेको छ ।
यस्तै स्टार्स फाउन्डेसन नेपालले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । नेपाली मौलिक लोक संस्कृति र सांस्कृतिक नृत्यहरूको संरक्षणमा र प्रवर्द्धनका लागि क्रियाशील छ । यसको कार्यालय पोखरा न्युरोडमा रहेको छ । प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकको भनाइ छ ।