पोखरा । जिल्लास्तरीय एन्फा यू १४ छात्रछात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि शिशु कल्याण विद्यालय र त्रिभुवन शान्ति माविले जितेका छन् । कास्की जिल्ला फुटबल सङ्घको आयोजनामा पोखरा रङ्गशालामा शुक्रबार फाइनलमा छात्रतर्फ शिशुकल्याणले गण्डकी बोर्डिङलाई ३–० गोलले पराजित गरेको हो ।

 पहिलो हाफ गोलरहित बराबरी भएकोमा दोस्रो हाफको अन्तिम १० मिनेट सम्हालिन नसक्दा उपाधि दाबेदार गण्डकी उपविजेतामा सीमित हुन पुग्यो । शिशु कल्याणका लागि सुमन घर्तिमगरले पहिलो गोल गरे । कप्तान शक्ति बोहोरा र विक्रम गुरुङले एक एक गोल गरे । उपाधिसँगै शिशु कल्याणले नगद ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता गण्डकीले २५ हजार रुपैयाँ पायो । 

छात्रातर्फ पोखराको खुँदीस्थित त्रिभुवन शान्ति माविले फूलबारीको सैनिक आवासीय माविलाई सडन डेथमा हराउँदै उपाधि जितेको हो । निर्धारित ६० मिनेटको खेलमा दुबै टिमले गोल गर्न नसक्दा खेल सिधै टाइब्रेकरमा पुगेको म्याच कमिस्नर गोपाल थापाले जानकारी दिए । ५-५ प्रहारमा बराबरी २ गोल भएपछि खेल सडन डेथमा पुगेको हो । दुवैतर्फबाट दुबै प्रहार गोलमा परिणत हुन नसकेपछि सातौँ तथा अन्तिम प्रहार प्रतिमा पोखरेलले गरेकी हुन् । बलले जाली चुम्दा जुन निर्णायक बन्यो । उपाधिसँगै त्रिभुवन शान्तिले २० हजार र उपविजेता सैनिकले १० हजार रुपैयाँ प्राप्त गर्‍यो । 

प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयकी रश्मि रिजाल र शिशु कल्याणका सुमन घर्ती मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । छात्रातर्फ रिजाल सर्वोत्कृष्ट हुँदा सैनिककै सन्सुभा थापा मगर उच्च गोलकर्ता बनिन् । उनले प्रतियोगिताभर ९ गोल गरिन् । त्रिभुवन शान्ति माविकी सोनम सुवेदी उत्कृष्ट गोलरक्षक, त्रिभुवनकै भिमकुमारी पुन उत्कृष्ट मिडफिल्डर, त्रिभुवनकै प्रतिमा पोखरेल उत्कृष्ट डिफेन्डर घोषित हुँदा त्रिभुवनकै रोमन थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । छात्रतर्फ गण्डकी बोर्डिङका वियोन गुरुङ उत्कृष्ट गोलरक्षक, गण्डकीकै सौरभ फडेरा उत्कृष्ट डिफेन्डर घोषित हुँदा शिशु कल्याणका दिपेश काफ्नो उत्कृष्ट मिडफिल्डर, सुरेश गाहा उत्कृष्ट फरवार्ड, शक्ति बोहोरा उच्च गोलकर्ता ( कुल १२ गोल) र सुनिल रानामगर उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सबैलाई आकर्षक पुरस्कार प्रदान गरियो । 

गत १२ भदौदेखि सुरू भएको प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ ६ टिमले भाग लिएका थिए । प्रतियोगितालाई बङलादेशी फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखरा, एबीज इन्जिनियरिङ लगायत अन्य सङ्घसंस्थाले सहयोग गरेको थियो । पोखरा महानगरपालिका प्रवर्द्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिकामा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0