बागलुङ । नेकपा एमाले बागलुङले आसन्न एमालेको विधान महाधिवेशनका लागि सुझाव सङ्कलन गरेको छ । १५० जना नेता कार्यकर्ता सहभागी बैठकमा ५० जनाले विधान महाधिवेशनको विषयमा सुझाव पेश गरेका थिए । उनीहरूले पार्टीको स्थायित्व, संविधानको रक्षा लगायतका विषयमा विधान महाधिवेशन केन्द्रित हुन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले स्थायी नीतिमा स्थायी नेतृत्व भएमा मात्रै देशमा विकासले गति लिने बताए । उनले छिटो—छिटो फेरिने संविधान र नेतृत्वले देशलाई सहित ढङ्गले अघि नलाने बताए ।
नेकपा एमाले बागलुङ जिल्लाले आयोजना गरेको विधान महाधिवेशन सुझाव सङ्कलन कार्यक्रममा बोल्दै नेता गुरुङले माक्सवाद र लेनिनवादमा जस्तै नीति र विधिमा स्थायित्व भएमा मात्रै देश समृद्ध हुने बताएका छन् ।
“नीतिमा स्थायित्व र विधिमा स्थायित्व भएमा नेतृत्वमा स्थायित्व हुन्छ, नेतृत्वमा स्थायित्व भएमा राजनीतिक स्थायित्व हुन्छ र राजनैतिक स्थायित्व भएमा देश समृद्ध बन्छ” गुरुङले भने “त्यसैले नीति र विधि छिटो—छिटो परिवर्तन गरिरहने र संसोधन गरिरहने विषय राम्रो होइन ।”
राजनीतिक स्थायित्व बिना मुलुकले स्थायित्व प्राप्त गर्न सक्दैन र देश अघि बढ्दैन भन्दै गुरुङले नेपालमा राजनैतिक अस्थिरताका कारण विकास कमजोर भएकाले नेतृत्व स्थायित्व गराउनका लागि जनता जागरुक हुन आवश्यक रहेको बताए।
विधान महाधिवेशनमा धेरै छेडछाड नहुने बताउँदै स्थायित्वका लागि मात्रै विधान महाधिवेशन केन्द्रित रहने उनले बताए । अमेरिका र भारतको जस्तो स्थायी संविधान बनाउन सकेमा मात्रै देशले फड्को मार्ने उनको भनाइ थियो । लहै—लहैको आधारमा संविधान र विधिको विषयमा प्रश्न गर्न नहुने भन्दै गम्भिर अध्ययन र त्यसका प्रभावका विषयमा अध्ययन गरेर मात्रै बोल्नुपर्ने उल्लेख गरे।
व्यवस्थापिका संसद्को काम कानुन बनाउने भएपनि राजनीतिक संस्कार बिग्रेर बाटोघाटो केन्द्रित भएको बताउँदै सचेत व्यक्तिले कानून निर्माणमा सुझाव दिन आवश्यक रहेकोमा जोड दिए ।
एमालेको नेतृत्वमा दुई कार्यकाल र ७० वर्षे शर्तलाई संसोधन गरेर प्राकृतिक छनौटको आधारमा नेतृत्व चयन गरिनुपर्नेमा विधान महाधिवेशन केन्द्रित रहने बताए । उमेरका हिसाबले नेतृत्व छनोट गर्ने कुरा नमिल्ने बताउँदै एमालेले उमेर हदलाई फेर्ने प्रष्ट पारे।
कार्यक्रममा पोलिटब्युरो सदस्य तथा एमाले जिल्ला इन्चार्ज मन कुमारी केसीले एमालेलाई थप शसक्त पार्टीको रुपमा राख्न जनताको सुझाव लिन थालिएको बताउइन्। कार्यक्रम नेकपा एमाले हिरा बहादुर केसीको अध्यक्षता, उपाध्यक्ष विष्णु भुसालको स्वागत तथा उपसचिव धन बहादुर परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।












