पोखरा । लेखनाथ उद्योग वाणिज्य सङ्घको २९ औँ साधारण सभा तथा १५ औ अधिवेशनको मिति नजिकिँदै गर्दा नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी ह्वातै बढेको छ । यसपालिको अधिवेशनमा नेतृत्व लिनका लागि हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र महासचिव जानुका पराजुली अधिकारी प्यानलनै घोषणा गरेर उद्योग वाणिज्य सङ्घका सदस्य मतदातालाई भेट्ने प्यानल सहित पुग्न थालेपछी अधिवेशनको रौनकता बढेको छ । दुवै समुहले आफ्ना योजना सहित उद्योगी व्यवसायीलाई आफ्नो पक्षमा मत दिन आग्रह गरिरहेका छन् । दुवै प्यानलले यसपालिको प्रतिष्पर्धामा आफ्नो पक्षमा पल्ला भारी हुने दावी गरेपनि दुवै पक्षबीच कडा प्रतिष्पर्धा हुने आकलन त्यहाँका उद्योगी व्यवसायीले गरेका छन् ।
नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाको समुहबाट बरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी राजु, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धिरज कुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा लक्ष्मी प्रसाद ढुङ्गाना एलपी तथा कोषाध्यक्षमा टिकाराम सापकोटाले उम्मेदवारी दिने छन् ।
खुला सदस्यमा घनश्याम ढुङ्गाना, किशोर अधिकारी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भिमप्रसाद सुवेदी सन्तोष उम्मेदवार बन्नेछन् । महिला सदस्यमा लक्ष्मी ठाकुर, सपना सुवेदी तिवारी, एसोसिएट सदस्यमा प्रवेश बञ्जरा र संस्थागत सदस्यमा बिरभद्र कँडेलले उम्मेदवारी दिने निश्चित भएको छ । यो समुह ‘उद्योग व्यवसायको बलियो आधार, सक्षम नेतृत्व, खुलापन, नवप्रवर्तन र व्यवसायिक व्यवहार’ भन्ने मूल नारासहित उद्योगी व्यवसायीमाझ आफ्ना एजेन्डा लिएर पुगेको छ ।
यता हाल महासचिव रहेकी जानुका पराजुली अधिकारी नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य र द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई आईडीले उम्मेदवारी दिने भएका छन् । यस्तै महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गङ्गाकुमारी मल्ल र कोषाध्यक्षमा हरि बस्ताकोटीले उम्मेदवारी दिन लागेका छन् ।
उनको प्यानलबाट खुला सदस्यमा प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भूर्तेल, भविन्द्र पुन भविन, सुजन न्यौपाने, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना र सन्दीप बुढाथोकीको नाम टुङ्गिएको छ । एसोसिएट सदस्य दयाराज भण्डारी, संस्थागत सदस्यमा वीरभद्र कँडेल तथा २ महिला सदस्य शर्मिला श्रेष्ठ र गङ्गा परियार प्यानलमा छन् । ‘इमान्दारिता, पारदर्शिता र लगनशीलता ब्यवसायिक क्षेत्रमा सक्षम नेतृत्व आजको आवश्यकता’ नाराका साथ यो समुह चुनावी अभियानमा होमिएको छ । संस्थागत सदस्यमा उम्मेदवारी दिन लागेका वीरभद्र कँडेलको नाम दुवै प्यानलमा रहेको छ ।
दुवै टिमले घरदैलो अभियान मार्फत आफ्ना योजना उद्योगी व्यवसायी माझ राखिरहेका छन् । यसका अलावा डिजिटल प्लेटफर्म मार्फत समेत दुवै प्यानलले प्रचार प्रसारलाई तीव्र पारिरहेका छन् । प्यानल सहित चुनावमा होमिएका ओझा र पराजुलीले आ आफ्नो टिमको जित सुनिश्चित भएको दावी गरिरहेका छन् । दुवैले आफ्ना महत्वाकाक्षी योजना सहित मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् ।
यहीं भदौ २० र २१ गते हुने सङ्घको अधिवेशनका लागि २ हजार १९ जना सदस्य मतदाता रहेका छन् । संघको निर्वाचन उपसमितिले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तरगत उम्मेदवारको मनोनयन दर्ता भदौ १३ गते हुनेछ । मतदान भदौ २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिए । मतगणना भदौ २२ गते हुनेछ ।












