पोखरा । गण्डकी प्रदेश सभा भवनको शिलान्यास भएको छ । मङ्गलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदीपुरमा भवनको शिलान्यास गरेका हुन् । भवन २५ करोड ३७ लाख ८२ हजार आठ सय ६१ रुपैयाँ  लागत लाग्ने छ । २०८१ माघ १८ गते सम्झौता भएको भवन निर्माण २०८४ माघ १७ गते सम्पन्न गर्ने लक्ष्य लिइएको छ। सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बमोजिम भवन निर्माण हुँदै छ । 

श्रेष्ठ एन्ड सन्स  इस्ट वेस्ट जेभी काठमाडौंसँग भवन निर्माणको सम्झौता भएकोमा अहिलेसम्म भवनको जमिनको सतहमुनि गर्नुपर्ने कामहरू सकिएका छन् । डिपिआरअनुसार भवनको लागत ४४ करोड ९९ लाख ६० हजार तीन सय ७६ रुपैयाँ रहेकोमा ३२.४१ प्रतिशत घटेर श्रेष्ठ एन्ड सन्सले ठेक्का पाएको हो ।  भवनका लागि श्रेष्ठ एण्ड सन्स इष्ट–वेष्ट जेभी सँग निर्माण सम्झौता भएको प्रदेश संसद् सचिवालयले जनाएको छ । अहिले भवन निर्माणको लागि प्रारम्भिक काम भैसकेको छ । निर्माणस्थल सम्म्याउने र डन्डी तेर्स्याउने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । संसद् भवन बनाउनका लागि यसअघि डेढ अर्बको डीपीआर बनाइएको थियो । तर उक्त डीपीआर कार्यान्वयन गर्न नसक्ने भएपछि नयाँ डीपीआर बनाइएको हो । भवन निर्माणको योजना कार्यान्वयन सहरी विकास तथा भवन कार्यालय कास्कीले गर्ने सभामुख कृष्ण धितालले जानकारी दिए । हालकै कार्यालय पछाडि भवन निर्माणको काम सुरु भएको उनले बताए । भवन ७ रोपनी क्षेत्रफलमा बन्ने छ ।

चालु वर्षका लागिमात्रै ९ करोड रुपैयाँ विनियोजन भएको सरकारले जनाएको छ । ०८१ साउन २१ मा बोलपत्र आह्वान गरिएकोमा ३५ निर्माण कम्पनीले भवन बनाउने प्रस्ताव पेस गरेका थिए । त्यसमध्ये २६ कम्पनी छनोट भएकोमा सबैभन्दा कम लागत प्रस्ताव गर्ने कम्पनी छनोट भएको हो सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीका सीडीई ओमराज ढुङ्गानाले जानकारी दिए ।

सीडीई ढुङ्गानाका अनुसार प्रदेशसभा भवन समयमै सक्ने निर्माण कम्पनीले प्रतिवद्धता गरेका छन् । अबको तीन वर्षमा प्रदेश सभा भवन सम्पन्न गर्नुपर्नेछ । सम्झौता अनुसार माघको मसान्तसम्म पहिलो तलाको ढलान सम्पन्न हुने उनले बताए । तोकिएको समय भन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्न कार्यालय लागि पर्ने प्रतिवद्धता ढुंगानाले जनाए ।

भवन ३ तलाको हुनेछ । भुइँतलामा ५ वटा संसदीय दलको कार्यालय, ५ वटा भीआईपी कार्यालय निर्माण हुनेछ । भीआईपी कार्यालयहरू मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र संसद् सचिवको हुने छन् । त्यसमाथिको तलमा संसद्को बैठक कक्ष बन्नेछ । ७८ जना अट्ने गरी बैठक कक्ष निर्माण हुँदै छ । दर्शक दीर्घाका लागि छुट्टै ८० जनाको कक्ष निर्माण हुन्छ । त्यसबाहेक सामान्य र भीआइपी कक्ष, मार्सल अफिस, कार्य व्यवस्था परामर्श समितिको बैठक कक्ष, लाइब्रेरी, भिडियो कन्फरेन्स हल र टिभी स्टुडियो हुनेछ । सँगै पार्किङ र चमेना गृह बनाइने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0