पोखरा । नेपालका बङ्गलादेशका राजदूत मोहम्मद सापिकुर रहमानले उपभोगले हैन, औद्योगिकीकरणले मात्र देशको अर्थतन्त्र माथि जाने बताएका छन् । उनले त्यसको लागि नेपालसहित कम विकसित राष्ट्रहरूले आफ्नो उत्पादन र त्यसको ब्रान्डिङमा ध्यान दिनुपर्ने पनि बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने,‘अहिलेको विश्व प्रविधि, भूगोल वा व्यापारले जोडिएको छ । व्यवसायको धर्म र रङ हुँदैन तर व्यवसाय गर्नको लागि उत्पादन चाहिँ हुनैपर्छ ।’

उनले नेपाल र बंगलादेशबीच कृषि, प्रविधि हस्तान्तरण, आयुर्वेदिक उत्पादन तथा औषधिको क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको पनि बताए ।

‘हामी नेपालसँग अझै बढी बिजुली लिन सक्छौँ, हामीलाई त्यसको आवश्यकता छ । व्यापार बढ्दा बङ्गलादेशको पैसा नेपाल आउन सजिलो छ तर हामीले यसको लागि अझै धेरै गर्न बाँकी छ । बङ्गलादेशको औषधि उद्योग नेपाल आउन खोज्दा सहज भएन ।’

उनले फूलबारी–बंगलाबन्द मार्गको सहज सञ्चालनबाट दुवै देशले धेरैभन्दा धेरै लाभ लिन सक्ने धारणा पनि राखे । व्यापारलाई भू–राजनीतिक मामिलाबाट टाढा राख्नुपर्ने उनको भनाइ थियो ।

‘काँकरभित्ता–फूलबारी–बंगालाबन्द व्यापारिक मार्ग सञ्चालन हुनु असाध्यै राम्रो हो तर हामीले यहाँ धेरै गर्नुछ । क्रस बोर्डर भौतिक पूर्वाधार निर्माण तथा भन्सार शुल्कलगायतका विषयमा सुधार हुनुपर्छ,’उनले भने । उनको सङ्केत नेपाल र बङ्गलादेशबीच पर्ने भारतीय भूमिमा रहेको राजमार्गप्रति रहेको थियो ।

नेपाल र बङ्गलादेशबीचको पर्यटन प्रवर्द्धनको लागि पोखरा–बंगलादेश सिधा उडान हुनुपर्ने पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीको भनाइको जवाफ दिँदै राजदूत रहमानले बङ्गलादेशका हवाइ कम्पनीहरू पोखराबाट उडान भर्न तयार रहेको र त्यसको लागि प्रक्रिया सुरु भएको जानकारी दिए ।

उनले पोखराजस्तो पर्यटकीय सहरमा ‘हलाल फुड’को माग हुनसक्ने बताउँदै त्यसका लागि बङ्गलादेशले सघाउन सक्ने बताए । एलोभेरा, नेपाली पस्मिनाको बङ्गलादेश राम्रो बजार हुने पनि उनको धारणा थियो ।

बङ्गलादेशका राजदूतलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले यसअघि भएको बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिमको पोखरा भ्रमणले बङ्गलादेशमा नेपालबारे प्रचार भएको र त्यहाँबाट आउने पर्यटक सङ्ख्या बढेकोमा बङ्गलादेश सरकारलाई धन्यवाद ज्ञापन गरे ।

‘अहिले नेपाल भ्रमण गर्ने बङ्गलादेशी पर्यटक बढेका छन् । नेपाल सरकारले बङ्गलादेशको मुद्रालाई पनि परिवत्र्य मुद्राको रुपमा ग्रहण गर्दै त्यहाँका पर्यटक भित्र्याउने पहल थालेको छ,’अध्यक्ष कार्कीले भने,‘ यस्तो अवस्थामा नेपाल र खासगरी पोखरामा धेरैभन्दा धेरै बङ्गलादेशी पर्यटक आऊन् भन्ने हाम्रो चाहना छ । पोखराबाट सोझै ढाका उडान हुन सके दुई देशबीचको पर्यटन उद्योग र व्यापारलाई अझ फाइदा हुन्यो भन्ने हामीलाई लागेको छ ।’

अध्यक्ष कार्कीले नेपालमा उत्पादित चिया,अदुवा अलैंचीलगायतका कृषिजन्य बस्तुको निर्यात बढाउन पनि बङ्गलादेशले सहजीकरण गरिदियोस् भन्ने आग्रह गरे ।

अध्यक्ष कार्कीले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुको फूलबारी–बंगलाबन्धु मार्गबाट सहज आवत जावतको प्रबन्धमा नेपाल र बङ्गलादेशबीच सहकार्य हुनुपर्ने धारणा पनि राखे ।

सन् २०२६ मा नेपाल र बङ्गलादेश दुवै अति कम विकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुँदै गरेको प्रसंग झिक्दै उनले भने,‘ विकासशील देश हुँदाको चुनौती सामना गर्न हामीबीच व्यापारको क्षेत्रमा सहकार्य हुनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ ।’

पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले नेपाल र बङ्गलादेशबीच सोझो हवाइ सम्बन्ध स्थापित हुँदा व्यवसाय स्वतः बढ्ने धारणा राखे ।

छलफल कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापति,संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य,उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्ष बलराम आचार्य,महासचिव शोभा गौतम, कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ र उपमहासचिव सुदीप प्रधानाङ्गको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0