पोखरा । पोखरा महानगरपालिका वडा नं.१४ स्थित बलभद्र माध्यमिक विद्यालयमा वृक्षारोपण तथा प्रयोगात्मक ज्ञान अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। वडा नं १४ की जनप्रतिनिधि दिलमाया गुरुङको प्रमुख आतिथ्यता र बलभद्र माविका प्रधानाध्यापक भोलानाथ पौडेल, समाजसेवी मानबहादुर जिसी, नगर युवा परिषद पोखरा का सदस्य मिलन पौडेल, कृतन वाग्ले तथा अन्य विशिष्ट व्यक्तित्व एवं विद्यार्थीहरूको बाक्लो उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि दिलमाया गुरुङले वडा नं १४ भित्र यस्ता कार्यक्रमहरू नै सराहनीय कार्य भएको बताउँदै आगामी दिनमा वडाबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन् । यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक जीवनसँग सम्बन्धित ज्ञान प्रदान गर्नुका साथै वातावरणीय चेतना अभिवृद्धिमा समेत ठूलो योगदान पुर्याउने अपेक्षा गरिन् ।
कार्यक्रमका सभापति तथा नगर युवा परिषद् वडा नं १४ का अध्यक्ष सागर पौडेलले वातावरण संरक्षण र प्रयोगात्मक शिक्षालाई जोड दिँदै १० प्रजातिका १०० बिरुवा रोपिएको जानकारी दिए । जसमा बिरुवामा अम्बा २०, गोलमोल २०, चिउरी ५, धुपी ५, रुद्राक्ष ५, पारिजात २०, कफी ५, सल्लो ५, निम २, महेन्द्र र विरेन्द्र जातका बिरुवा ५/५, तथा बेल २ रहेका छन्। यसका साथै पोखरा महानगरपालिकाबाट ९० केजी मल सहयोग स्वरूप प्राप्त भएको जनाईएको छ । कार्यक्रममा प्रत्येक शुक्रबार वृक्षारोपण, कृषि, पर्यटन, व्यवहारिक ज्ञान, पौराणिकतत्व झल्किने सीपहरू, पाठ्यपुस्तक बाहिरका गतिविधि, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रम अन्तर्गत विद्यालयमा पुस्तकालयको अवस्था, खाजाको गुणस्तर, छात्रवृत्ति र जेहेन्ददार विद्यार्थीहरूको अवस्था लगायतका तथ्याङ्कहरू पनि सङ्कलन गरिएको छ। कार्यक्रमको सञ्चालन रञ्जु जिसीले गरेकी थिइन्।











