पोखरा । रियालिटि शो एक्टिङ स्टारको टप १० मा पर्न सफल  रेवन राई उपाधि जित्ने लक्ष्यका साथ अगाडि बढिरहेका छन् । उनलाई यतिबेला धेरै दर्शकको साथ र भोट आवश्यक परेको छ । यही क्रममा आफ्नो कलाकारिता यात्रा प्रारम्भ भएको ठाउँ पोखरामा आएर रङ्गकर्मी र सञ्चारकर्मीसँग भेट गरेका छन् । 

जन्मथलो सुनसरी भएपनि उनको रङ्गकर्मको यात्रा पोखराबाट सुरु भएको हो । राई टप १० मा परेपछि भोटको अपिलसहित पोखरा आएका हुन् । कलाकारिता क्षेत्रमा स्थापित हुने लक्ष्यका साथ पछिल्ला दिनमा राजधानी बसेर सङ्घर्ष गरिरहेका राईको अभिनयमा परिपक्वता देखिन्छ । फलस्वरुप अभिनयलाई रियालिटि शो का दर्शकले उत्तिकै रुचाएका छन् । 

पोखरा थिएटरको गन्धर्व नाटकघरमा पोखराका रङ्गकर्मी र सञ्चारकर्मीमाझ आफ्नो कलाकारिता यात्राको सुरुवाती दिनहरू स्मरण गर्दै सबैको साथले एक्टिङ स्टारको उपाधि जित्ने विश्वास उनले गरे । अहिलेसम्मको यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि अझबढी साथको अपेक्षा गरेको खुलाए।

महक मिडिया नेटवर्कले निर्माण गरेको उक्त शो एपी वान टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रसारण हुने गर्छ । ३ हजारभन्दा बढि कलाकारहरूको डिजिटल अडिसन भएको थियो जसमा राईले सबै तहको अडिसन पुरा गरि उत्कृष्ट १० मा पुगेका हुन् । राईले आफ्नो अभिनय मार्फत जजहरूको मन जितिरहेका छन् । सोही कारण उनले उत्कृष्ट सय बाट सिधै उत्कृष्ट २० मा छानिएका थिए । भोटिङ मार्फत अगाडिको यात्रा तय हुने भएकोले उनले सबैसँग साथ दिन आग्रह गरेका छन् । जीवनमा विभिन्न उतार चढाब भोगिसकेका उनको कलाकारिता क्षेत्रमा स्थापित हुने सपना रहेको छ । उक्त सपना पूरा गर्नको लागि मेहनत गरिरहेका उनले सबै साथमा लक्ष्यमा पुग्ने विश्वास समेत गरेका छन् ।

राईले केही लघु चलचित्र, नाटकहरूमा अभिनय गरिसकेका छन् । पोखरा थिएटरले राईको आगामी यात्रामा सहयोग पुगोस् भन्ने हेतुले रङ्गकर्मी र सञ्चारकर्मीसँग भेटघाटको आयोजना गरेको हो । कार्यक्रममा उनका सहकर्मी रोशन ज्ञवालीले सहजीकरण गरेका थिए भने पोखरेली हास्य कलाकार युवराज भण्डारी, रङ्गकर्मी चे शंकर, दील प्रसाद गुरुङ, त्रिवेणी, सुरेशराज अधिकारी, देव बस्नेत लगायतले उनलाई शुभकामना दिएका थिए ।

उनले पुनः पोखरामा फर्केर रंगकर्मको यात्रा अगाडि बढाउने समेत प्रतिवद्धता जनाएका छन् ।  नाम कमाउने र पोखरालाई चिनाउने  बताएका उनले यो यात्रामा अगाडि बढ्न पोखरा थिएटरले दिएको प्लेटफर्मको बारेमा पनि उल्लेख गरे । पोखरामा रहँदा भोलेन्टियर, ब्याक स्टेज हुँदै स्टेजको यात्रा गरेका उनले  निरमाया, अ प्लेस माइ हर्ट, उ मरेकी छैन लगायतका  नाटक मार्फत पोखरेली रङ्गमञ्चमा  परिचित बनेका थिए ।   कोभिडको समयमा घर सुनसरी फर्किएका उनी पछि  काठमाण्डौ हानिए । त्यहाँ रहँदा केही नाटकमा काम गरे ।  अहिले कलाकारिता क्षेत्रमा स्थापित बन्ने अवसर पाउने आशाका साथ अगाडि बढिरहेका छन् । 

सबैसँग उनले भोटको अपिल समेत गरेका छन् । उनलाई नेपालबाट ओएसआर कनेक्ट एप डाउनलोड गरी एक्टिङ स्टारमा क्लिक गरेर रेवन राईको फोटोमा क्लिक गरी भोट दिन सकिनेछ।  नेपाल भन्दा बाहिर भएकोले सिनेमा घर एप डाउनलोड गरेर एक्टिङ स्टारमा क्लिक गरेर रेवन राईको फोटोमा क्लिक गरी भोट दिन सकिनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
2
+1
0
+1
0