पोखरा । नेपालकी होनहार युवा फाइटर सुस्मिता थापा मगर कर्मा फाइट लिग केएफएल श्रीलङ्का संस्करणमा के फस्ट च्याम्पियन बन्न सफल भएकी छन्। भारतको मिजोरम राज्यकी अनुभवी एमएमए खेलाडीलाई पराजित गर्दै उनले उपाधिसँगै श्रीलङ्कन १ लाख रुपैयाँको नगद पुरस्कार हात पारिन्। उनको उत्कृष्ट प्रदर्शनले आयोजकहरूको ध्यान खिच्न सफल भएको छ। यही प्रदर्शनका आधारमा उनलाई अक्टोबरमा हुने केएफएल सिक्स संस्करणमा ‘अनडिस्प्युटेड च्याम्पियन’ निमिषा कुमारीविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर सुनिश्चित गरिएको छ।
यो फाइट अब औपचारिक रूपमा घोषणासहित पक्का भएको छ। कोचको भनाइ अनुसार सुस्मिता विस्तारै आफ्नो स्किल सुधार्दैछिन्। सुस्मिताका प्रशिक्षकका अनुसार, “उनी अहिले विस्तारै परिपक्व बन्दै गइरहेकी छिन्। उनको लगनशीलता र आत्मविश्वास प्रेरणादायक छ। सुस्मिता मात्र नभएर म अझै धेरै व्यावसायिक फाइटर उत्पादन गर्ने लक्ष्यमा छु। पोखरा मात्रै होइन, सिङ्गो नेपालमा नै कम्ब्याट खेलहरू विकास गर्न हामी निरन्तर लागिरहेका प्रायोजनको अभावमा आफ्नै खर्चमा सहभागी हुनुपरेको कटु यथार्थ हामी सँग छ उनले भने ।
यही प्रतियोगिताका अवसरमा ‘कन्टेन्डर फाइट सिरीज’का आयोजक खगेन्द्र क्षेत्रीले पनि नेपाली फाइटरहरूको अवस्था उजागर गरे। उनले भने, “हरेक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा हामी आफ्नै खर्चमा जानुपरेको छ, जुन एक प्रकारले दुःखद र निराशाजनक यथार्थ हो। हामीलाई अझ धेरै प्रायोजकहरूको आवश्यकता छ। केही साथीहरूले समय–समयमा आर्थिक सहयोग गरिरहनुभएकोमा उनले विशेष धन्यवाद दिए । अब सुस्मिता चाँडै जापान लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा भाग लिनको लागि तयारीमा लाग्नेछिन्। युवावस्थामै यस्तो स्तरको सफलता प्राप्त गर्नु नेपाली मुवाथाई र सम्पूर्ण कम्ब्याट स्पोर्ट्सको लागि गर्वको कुरा हो। नेपालका युवा फाइटरहरूलाई सशक्त बनाउने र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानमा यस्ता प्रयासहरू महत्त्वपूर्ण साबित हुँदै गएका छन्।












