पोखरा । वडा प्रहरी कार्यालय बैदाम पोखराका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टराईले ध्वनि प्रदुषण गर्ने सवारी साधनलाई नियन्त्रण गर्ने बताएका छन् । साउन ५ गते वडा प्रहरी कार्यालय बैदाममा प्रमुखको रुपमा आएका भट्टराईले स्वरुप परिवर्तन गरेका र ध्वनि प्रदुषण गर्ने मोटरसाइकललाई तत्काल कारवाही गर्न प्रहरी परिचालन गरिसकेको बताए ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले आयोजना गरेको स्वागत कार्यक्रममा भट्टराईले शान्ति सुरक्षा सबैको सरोकारको विषय रहेको बताए । भट्टराईले पर्यटकीय क्षेत्र लेकसाइडमा मोटरसाइकलले ध्वनि प्रदुषण गरेको गुनासो सुने पछि आफूले ध्वनि प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रणका लागि प्रहरी खटाइसकेको बताए । भट्टराईले पर्यटकीय नगरीलाई सभ्य र सुरक्षित बनाउन सबैको साथ लिएर अगाडि बढ्ने बताए । । प्रहरीले गर्नुपर्ने काम कर्तव्यमा रहेर शान्ति सुरक्षा कायम गर्न आफू लाग्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले बैदाममा हुने गरेका अवान्छित क्रियाकलापलाई रोक्न भट्टराईको ध्यानाकर्षण गराएका थिए । बरालले रात्रिकालीन व्यवसायका कारण होहल्ला हुने गरेका कारण स्थानीहरू प्रभावित भएको बताए । उनले लेकसाइडको हल्लनचोक देखी बाराहीघाट सम्म पार्किङको समस्या रहेको, फेवाताल किनारको फुटट्रेल लागू पदार्थ दुर्व्यसनीको अखडा बनेकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मङ्गल नेपाली, पूर्वअध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, पूर्वअध्यक्ष मिना भट्टराई लगायतले दण्डहीनता मौलाउँदा शान्तिसुरक्षा खलबलिने भएकाले प्रहरी सचेत हुनुपर्ने धारणा राखे । स्वागत कार्यक्रममा संस्थाका उपाध्यक्ष सोभियत परियार र महासचिव शान्ता तिमिल्सिना, समाजसेवी नवीन बराल लगायतले लेकसाइड पर्यटकीय क्षेत्र भएकाले शान्ति सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए । उनीहरूले कास्कीका अन्य क्षेत्र भन्दा लेकसाइडलाई प्राथमिकतामा राखेर हेर्नुपर्ने धारणा राखे ।












