पोखरा । हिन्दु धर्मावलम्बीहरूले शिवको महिमा गाउने महिना हो साउन । विशेषगरी साउन महिनाको हरेक सोमबार गेरुबस्त्र धारण गरी नदि तथा कुण्डमा गई स्नान गरी तहाँबाट जल ल्याइ, जल गाईको दूध, बेलपत्र शिव मन्दिरमा पुगी चढाउने गरिन्छ । यसरी जलाशयबाट स्नान गरी जल ल्याई बोलबम पुर्कादै यात्रा गर्दाको माहोल बेग्लै देखिन्छ । 

बोलबमको रौनकता अन्य ठाउँमा भन्दा पोखरामा खास हुने गर्दछ । ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि सेवाश्रम समितिले विगत २४ वर्षदेखि श्रावण महिनाको प्रत्येक सोमबार बोलबम यात्रा गर्दै आएको छ । यसले भक्तजनमा बेग्लै खालको रौनकता प्रदान गर्छ । 

पोखरा १, बगर गाइघाट शुक्लागण्डकीमा १०८ धारामा स्नान गरी करिब ८ किलोमिटर पदयात्रासहित बैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्दै आफ्नो मनोकाङ्क्षा पुरा हुने आशामा भक्तजन साउनको पहिलो सोमबार सहभागी भए । केही भक्तजनले खाली खुट्टाले हिडेँरै ८ किलोमिटरको यात्रा तय गरे ।  बगर गाइघाटदेखि झाँकी र भजनकीर्तनसहित निकालिएको बोलबम र्‍याली पोखराको मुख्य बजारको परिक्रमा गर्दै फेवाताल किनार बैदाममा रहेको केदारेश्वर मन्दिरमा पुगेको थियो । 

 यात्रामा सहभागी मन्दिरका पिठाधीश डा. लेखनाथ आचार्यले मौसमले पनि साथ दिएको बताए । खालिखुट्टा हिँडिरहेका भक्तजनको लागि सडकमा पानी छर्कने व्यवस्था मात्र नभएर तिर्खा मेट्न सर्वतपानीको समेत व्यवस्था थियो । डा. आचार्यले यात्रा आनन्दमय र उल्लासमय भएको सुनाउँछन् । 

यातायातको सुविधा तथा कार्यव्यस्ताका कारण समेत खाली खुट्टाले हिडेँर सहभागी हुनेको सङ्ख्या विगतको तुलनामा घटेको पाइयो । मन्दिरमा सिधै आएर शिव लिङ्गमा पानी, दूध चढाउनु भन्दा गाइघाटबाटै जल लिएर आएर केदारेश्वरमा जलार्पण गर्नुको महत्व विशेष रहने पिठाधीश आचार्य बताउँछन् । भक्तजनलाई पैदल यात्रा गर्न आग्रह उनी गर्छन् । 

यता बोलबम कार्यक्रमका संयोजक शङ्कर खराल भने सहभागी नघटेको दावी गर्छन् । पहिलो सोमबार झण्डै ५० हजारको हाराहारीका भक्तजन मन्दिरमा पुगेको दावी उनी गर्छन् । 

कास्की तथा यस आसपासका जिल्लाका अतिरिक्त छिमेकी मुलुकबाट आएका भत्तजनको सहभागीता समेत बोलबम यात्रा तथा मन्दिरमा देखिन्थ्यो । पोखराको बैदामस्थित केदारेश्वर महादेवमणि सेवाश्रम समितिले बगरस्थित गाईघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई २०५८ सालदेखि व्यवस्थापन गर्दैआएका संयोजक खरालले बताए । बोलबम संयोजक खरालले पोखराका विभिन्न ठाउँबाट गाइघाटमा पुगेको बताए । पहिलो सोमबार सहभागी हुन नसकेका भक्तजनलाई बाँकी सोमबार सहभागी बन्न उनको आग्रह छ ।

 केदारेश्वर मन्दिरमा पुग्ने भक्तजनलाई पश्चिमाञ्चल क्याटरिङ व्यवसायी संघले प्रसाद वितरण गरेको थियो । झण्डै १५ हजार भक्तजनलाई नि:शुल्क प्रसाद वितरण उद्धेश्यले आफूहरुले काम गरेको बाम्बो क्याटरिङ सर्भिसका सञ्चालक समेत रहेका कार्यक्रम संयोजक बालकृष्ण श्रेष्ठले बताए । सबै व्यवसायी साथी मिलेर संस्थालाई चिनाउनको लागि यो पवित्र कार्य गरिएको उनको भनाइ छ । यसको लागि क्याटरिङ व्यवसायीहरु आफै खटिएको थिए । यस्तो समाजसेवाको कार्यक्रम व्यवसायीले अन्य ठाउँमा गरिरहेको भएपनि केदारेश्वरमा भने पहिलो भएको उनी बताउँछन् । 

पश्चिमाञ्चल क्याटरिङ्ग व्यवसयि संघको अध्यक्ष तथा बराल क्याटरिङका सञ्चालक भगवान बरालले धार्मिक स्थलमा पुन्य कार्य गर्नको लागि सेवा गर्ने मौका दिएकोमा मन्दिर व्यवस्थापन समिति प्रति आभार व्यक्त गरे । भक्तजनलाई हलुवा, पुरी, तरकारी, चियाको व्यवस्था आफुहरुले मिलाएको उनले उल्लेख गरे। 

क्याटरिङ व्यवसायी संघको केन्द्रिय सदस्य कमल बहादुर सापकोटाले टाढा–टाढा बाट दर्शन गर्न आएका भक्तजनको सहजताको लागि यो कार्य गरेको बताउँछन् । गाइघाटबाट केदारेश्वर मन्दिरमा आएर पुजा गर्न ४, ५ घण्टा लागेको एकजना भक्तजनले सुनाए।

 व्यस्थापन खटिएकाहरुले भक्तजनलाई सहजिकरण गरे भने विशेष पूजा आराधनादेखि भजनकीर्तन महाआरतीसँगै गरिएको शिव साधनामा भक्त्तजन सहभागी बने । व्यवस्थापन पक्ष राम्रो रहेको कारण सहज भएको अर्का भक्तजनको प्रतिक्रिया थियो । 

साउनको महिना भगवान शिवको महिना भएकोले उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल उठाएर शिवलिङ्गमा चढाउँदा मनोकाङ्क्षा पुरा हुने सहभागी भत्तजनको विश्वास छ । बोलबम कार्यक्रम पछिल्ला वर्षमा सँस्कृतिको रुपमा समेत विकास भएको छ । यसपाली श्रावण ५ सहित १२, १९ र २६ गते सोमबार परेको छ । बोलबम कार्यक्रममा सहभागीता  विगत भन्दा कम देखिएकोले सहभागीता बढाउन र रौनकता थप्न पहल गर्नुपर्ने आवश्यकता भने देखिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0