काठमाडौँ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिएका छन् । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आज भएको पार्टीको पोलिटब्युरो बैठकमा उनले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोल्दै अहिले पार्टीको मुख्य काम विधान महाधिवेशन र विधि निर्माण काम भएकोले नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिएका छन्।
बैठकमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव शङ्कर पोखरेलको पार्टीको सङ्गठनात्मक क्षेत्र बलियो बन्दै गइरहेको बताए । उनले पार्टी सङ्गठित सदस्य १५ प्रतिशतले बढेको जानकारी गराए । “अहिलेको पार्टी सदस्यता, नवीकरण हेर्दा खेरि झण्डै १५ प्रतिशत बढेको भन्ने जानकारी छ, तथ्याङ्क आउने क्रम जारी छ । सबै तथ्याङ्क आएपछि सार्वजनिक गर्दछौँ ,” उनले भने,“पार्टी सङ्गठित सदस्य बढेकोमा हामी उत्साही भएका छौ । ”
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि शुक्रबार सात जनाले आआफ्नो धारणा राखेका छन् । यसरी धारणा राख्नेमा लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापा रहेका थिए । शनिबार बाँकी पोलिटब्युरो सदस्य बोल्ने तयारी रहेको छ ।
विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० बर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने राखिएको छ । यस्तै विधान संशोधन प्रस्तावमा पदाधिकारी सङ्ख्या १५ जना सहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने राखिएको छ । विधान संशोधन प्रस्तावमा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरि तीन तह रहने व्यवस्था गरिएको छ ।
विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने निर्णय गरिएको छ । यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रुपमा मानिएको थियो । बैठकले पार्टीमा सदस्य र सङ्गठित सदस्य गरी दुई खालका सदस्य हुने प्रस्ताव गरिएको छ। जनसङ्गठनमा आवद्ध रहेका सदस्य खारिंदै आएपछि पार्टीले प्रशिक्षित गरेपछि मात्र सङ्गठित सदस्य रहने छन् । बैठक शनिबार बिहान ११ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।












