पोखरा । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेश समितिको अध्यक्षमा विशन क्षेत्री निर्वाचित भएका छन्। आइतबार पोखरामा सम्पन्न संसदीय पत्रकार मञ्चको छैटौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले क्षेत्रीलाई अध्यक्षमा निर्वाचित गरेको हो । क्षेत्रीले अध्यक्षका अर्का उम्मेदवार रोहितराज पराजुलीलाई ४ मतले पराजित गरे। क्षेत्रीले २० मत पाउँदा पराजुलीको पक्षमा १६ मत मात्र पर्यो ।
समितिको उपाध्यक्षमा अनुप पौडेल विजयी भए । उपाध्यक्ष पदका अर्का उम्मेदवार युवराज श्रेष्ठलाई १० मतान्तरले पराजित गर्दै पौडेल विजयी भएका हुन् । पौडेलले २३ मत पाउँदा श्रेष्ठको पक्षमा १३ मत पर्यो । कोषाध्यक्षमा फडिन्द्र अधिकारीलाई २ मतान्तरले पराजित गर्दै ऋषिराम बरालले बाजी मारे । बरालले १९ मत पाउँदा अधिकारीले १७ मत पाए ।
समितिको सचिवमा युवराज गुरुङ युनिश, सहसचिवमा उमा आले मगर निर्विरोध निर्वाचित भए । कार्यसमितिको सदस्यहरूमा दुर्गा राना, विमल तिवारी, अनिता घिमिरे, प्रतीक्षा काफ्ले, सञ्जय रानाभाट र सुवास पौडेल सर्वसम्मत भए । संसदीय पत्रकार मञ्चमा ३६ जना सदस्य रहेकोमा रहेकोमा निर्वाचनमा शतप्रतिशत मत खसेको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले जबर्जस्ती रुपमा गणतन्त्र स्थापना पछि केही पनि सकारात्मक भएन भन्ने खालको भाष्य निर्माण गर्ने प्रयत्न भइराखेको बताए। उनले गणतन्त्र स्थापना अघि र अहिलेको नेपाल साँच्चै नै उस्तै छ त? भनी प्रश्न समेत गरेका छन् । मुख्यमन्त्री पाण्डेले गणतन्त्र स्थापना पछि देशमा उल्लेख्य रुपमा सकारात्मक परिवर्तन भएको दावी गर्दै जनताको आयस्रोत बढाउन भने नसकेको स्वीकार गरे ।
सरकारले गरिरहेको गलत कामको खबरदारीसँगै राम्रा कामको बारेमा सत्यतथ्यमा आधारित रहेर लेख्नुपर्ने बताए । जनतालाई सहित समाचारबाट सुसूचित गराउनुपर्ने उनको भनाई थियो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले राईड शेयरिङको बारेमा ल्याएको कार्यविधि कार्यन्वयनमा ल्याउनका लागि पत्रकार जगतबाट राम्रो सहयोग मिलेको समेत उल्लेख गरे ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश प्रमुख सचेतक गोविन्द बहादुर नेपालीले पछिल्लो समय व्यवस्थाप्रति वितृष्णा र अफवाह फैलाउने काम बढिरहेको बताउँदै व्यवस्था जोगाउनका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । व्यवस्थाप्रति जबरजस्ती रुपमा जनतामा वितृष्ण फैलाउनका लागि निर्माण गर्न लागिएको भाष्य हटाउनका लागि पत्रकारहरु लाग्नुपर्ने उनको जोड थियो ।
राप्रपा गण्डकीका अध्यक्ष एवं संसदिय दलका नेता पञ्चराम गुरुङले नक्कली पत्रकारको बढ्दो संख्याले सक्कली पत्रकार गुमनाम हुनेमा चिन्ता व्यक्त गरे । अहिले सुचना प्रविधिको पहुँच हातहातमा पुगेको कारण सबैजना बोल्न, लेख्न र फोटो खिच्न जान्ने भएको र उनीहरुले पत्रकारको ट्याग लगाएर बसेको समेत उनको भनाई छ । गुरुङले को पत्रकार हो र को पत्रकार होईन भन्ने छुट्याउन नसकिने अवस्था आएको समेत बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसी, गण्डकी अध्यक्ष रमेश पौडेल, कास्कीका अध्यक्ष माधव प्रसाद बराल, उपाध्यक्ष कञ्चन थापा कोइराला, गण्डकी प्रदेश सभा सामाजिक विकास तथा कृषि समितिका सभापति दमयन्ती रुचाल, संसदीय पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष विसन क्षेत्रीलगायतले बोलेका थिए । संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष उमा आलेले गरेकी थिईन् ।












