पोखरा । पोखराको नदीपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीय तर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आँधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् । पोखरा–३ नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनलमा आँधिखोला न्यु दिल्लीले एपीएफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । 

आँधिखोलाले एपीएफलाई २५–२२, २५–२१२६–२४ ले जित निकाल्यो । यस्तै दोस्रो सेमिफाइनलमा घान्द्रुक क्रोम्छे युवा समितिले ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ । घान्द्रुकले ढुङ्गे देउरालीलाई २५–२२, २५–२०, १६–२६२५–२३ को जित निकाल्यो । शनिबार बिहान क्लबस्तरीयमा एपीएफ र ढुङ्गे देउरालीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।  

यता भेट्रान्सतर्फ पोखरा भेट्रान्स र युनाइटेड किङ्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । भेट्रान्सतर्फको पहिलो सेमिफाइनलमा पोखरा भेट्रान्सले शुक्लागण्डकी भेट्रान्सलाई २–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्‍यो । पोखराले शुक्लागण्डकीलाई २५–२१, २०–२५ र तेस्रो तथा निर्णायक सेट २५–१५ ले जित्यो । 

दोस्रो सेमिफाइनलमा युनाइटेड किङ्सले अर्चलबोट भेट्रान्सलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान गर्‍यो । युनाइटेडले अर्चलबोटलाई २५–२१२५–१२ ले पराजित गर्‍यो । लामा अमृत फाउण्डेसन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लब तथा भेट्रान्स भलिबल प्रतियोगिता असार २४ देखि सुरु भएको हो । प्रतियोगिताको भेट्रान्सतर्फको फाइनल खेल शनिबार १० बजे हुने लामा अमृत फाउण्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए ।

 प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर, उदीयमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् । फाउण्डेसनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0