पोखरा । रेडियो अन्नपूर्ण ९३ दशमलव ४ मेगाहर्ज पोखराले ‘सम्झनामा आदिकवि’ विशेष कविता वाचन कार्यक्रम गर्ने भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर आयोजना गर्न लागेको कविता वाचन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको रेडियोका स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले कोटखबरलाई जानकारी दिए ।
रेडियो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ एवं २ सय १२ औं भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रम असार २८ गते शनिबार बिहान ११ बजेबाट पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा हुने उनको भनाइ छ । यो वर्ष हरेक महिना विशेष कार्यक्रम आयोजना गर्ने योजना अनुरूप यो कार्यक्रम गर्न लागिएको स्टेसन म्यानेजर मल्लले जनाए । आदिकवि भानुभक्त्त आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भएको थियो ।

कार्यक्रम संयोजक सरू लामिछानेका अनुसार साहित्यकारहरू जगन्नाथ रेग्मी, रुपिन्द्र प्रभावी, सरस्वती श्रेष्ठ सरू, सुरेश रानाभाट, सञ्जीव पौडेल, केआर ढकाल, रमा खतिवडा, निकेश गिरी, संयोग बस्याल लगायतले आदिकविको स्मरण गर्दै कविता सुनाउनेछन् । कार्यक्रममा उपस्थित भएर कविताको मज्जा लिँदै आदिकविको स्मरण गर्न सबै साहित्यप्रेमी र रेडियोका श्रोता शुभचिन्तकमा उनले आग्रह गरेकी छन् ।
रेडियोले रजत वर्षको कार्यक्रम अन्तरगत यसअगाडि बुद्ध जयन्तीको अवसर पारेर पोखरा १४ बाच्छीबुडुवामा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको रेडियोका प्रबन्धक निर्देशक सुनयना पालिखेले बताइन् । उनका अनुसार हरेक महिना केही न केही कार्यक्रम गर्ने योजना बनाएको रेडियोले बैशाखमा रजत वर्षको मुख्य कार्यक्रम आयोजना गर्नेछ । निरन्तर रुपमा दर्शक, श्रोता, विज्ञापनदाता, शुभचिन्तकको माया पाइरहेको कारण रजत वर्षका कार्यक्रमले नयाँ उर्जा थपिने विश्वास उनको छ । रेडियो अन्नपूर्णको स्थापना २०५८ साल बैशाख १२ गते भएको थियो ।











