पोखरा । पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ । नेपाल मगर पत्रकार सङ्घका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ छनौट समितिका संयोजक एमबी आस्था मगरको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले श्रीस मगरलाई पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो ।
मगर पत्रकार सङ्घ कास्कीको आयोजना र राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको सहकार्य साउन १ गरिने कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिने मगर पत्रकार सङ्घका कास्कीका अध्यक्ष सुरज थापा मगरले जानकार दिए । उनका अनुसार राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित पुरस्कार राशि यसपटक १५ हजार रुपैयाँ पुर्याइएको छ ।
उक्त पुरस्कार मगर जातिको भाषा, कला, धर्म, रीतिरिवाज तथा संस्कार– संस्कृति र कौराहा संरक्षण र प्रवर्द्धनको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरूलाई वार्षिक रुपमा प्रदान गर्दै आएको छ । २०७५ सालमा स्थापना भएको पुरस्कारबाट यसअघि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), ‘एमबी आस्था’ (कास्की), मनोज घर्ती मगर (कास्की), खेम सारु मगर (पाल्पा) र सारदा झेंडी मगर (नवलपुर) पुरस्कृत भइसकेका छन् ।
यस वर्ष पुरस्कृत हुन लागेका श्रीस मगर विगत १९ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । २०६३ सालमा पृथकयात्रा साहित्यिक द्वैमासिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका श्रीस अहिले पोखराको फेवा टेलिभिजनको कार्यकारी सम्पादक र कास्की आवाज दैनिकका सम्पादकमा कार्यरत छन् ।
पत्रकार श्रीस मगर यसअघि जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार, तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार, कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार र मगर सांस्कृतिक पत्रकारिताबाट सम्मानबाट सम्मानित भइसकेका छन् । उनी आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीको इन्चार्ज र नेपाल मगर पत्रकार सङ्घका केन्द्रिय उपमहासचिवमा छन् ।










