पोखरा । नेकपा एमालेका उपमहासचिव एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक इमान्दारिता नदेखाएको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले पहिला कही नभएको जात्रा हाँडी गाउँमा भन्ने गरेको भएपनि अहिले त्यस्तो जात्रा गण्डकीमा देखिएको दावी गरे । ‘कही नभएको जात्रा हाँडी गाउँमा भन्थे अहिले गण्डकीमा भएको छ । किनभने माथि समीकरण चेन्ज भएपछि तलपनि चेन्ज हुने हाम्रो प्रचलन छ ।’

गण्डकीका मुख्यमन्त्रीले दुःखमा साथ दिएकोलाई म राख्छु भन्न नमिल्ने उनको भनाई छ । मुख्यमन्त्रीले अराजनीतिक काम गरेको उनको दावी छ । ‘यो उहाँको निजी शासन हो र? निजी प्रणाली हो र? उहाँले कुनै प्राइभेट कम्पनी चलाएको होइन होला नी? उहाँले बुझ्नुपर्ने कुरा के छ भने माथिको समीकरणमा समावेश भएका अरु पार्टीलाई लिएर यहाँको समीकरण बनाउनुपर्छ राजनीतिक कुरा त्यही हो नी’ उनले खुलाए ।

गण्डकी प्रदेश सभाा सदस्य फडिन्द्र देवकोटा कानूनी लगायतका सबै हिसाबले माओवादीको प्रदेश सभा सदस्य रहेको प्रष्ट देखिने बताए । उनी माओवादीको सांसद होइनन् भनेर भन्नु राजनीतिक खेल भएको उनको दावी थियो । ‘कानूनी लगायतका सबै हिसाबले उनी माओवादीको सासंद देखिन्छन् । सचिवालयमा के-के मिलेन भन्ने कुरा लगाएर त्यहाँ पनि राजनीतिक खेल भइरहेको छ । एउटा पार्टीको टिकट लिएर लड्ने मानिस त्यो पार्टी भन्दा बाहिरको हुन्छ? संसदीय प्रणालीको त्यही कुरा होइन कि उसले पहिल्यै नै छोडेको हुनुपर्‍यो । म स्वतन्त्र भनेको हुनुपर्‍यो’ गुरुङको भनाई थियो ।

गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय भन्दा नबनाउने भनेर केन्द्रबाट भनिरहेको उनले बताए । ‘केन्द्रबाट ७ वटा मन्त्रालय भन्दा नबनाऊ भनेर भनिरहेको छ, उहाँ मधेशको २० बाट ११ मा झारिसकेको छ’ उनले भने ।

मुख्यमन्त्रीलाई दुःखमा साथ दिएकोलाई राख्न मन लागे आफ्नै भागबाट राख्न उनले सुझाए । राजनीतिक रुपमा गलत भएपनि आफ्नै सीटमा दुईजनालाई मन्त्री बनाउँछु भन्छन् भने त्यसमा आफूहरूको टाउको दुखाई नरहेको खुलाए । ‘आफ्नो सबै चाहिने अनि उनीहरूलाई राख्छु भनेर हुँदैन, यो त राजनीतिक इमान्दारिता भएन, जति सीट पाउँछ त्यसैमा मिलाउने हो अरु टाउको दुखाई छैन’ उनले भने ।

समीकरणको भागबण्डमा तेस्रो भाग लगाउन नमिल्ने उनको भनाई छ । अर्को प्रसंगमा अहिलेको समीकरण २०८४ को निवार्चनसम्म जाने ठोकुवा उनले गरे । सरकार टिक्ने मुख्य आधार लामो समयदेखि रोकिएको टिआरसी विधेयक पारित हुनु रहेको सरकारको प्रवक्ता समेत रहेका उनको दावी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0